रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ को त्रिवेणी चोक देखि जिल्ला प्रशासन कार्यालय जोड्ने सडक खण्ड बन्द भएको छ । कालिका मन्दिर नेर सडक खण्ड मर्मत हुन लागेकाले उक्त सडक खण्ड आज देखि फागुन ३० गतेसम्मका लागि बन्द भएको हो ।
अव त्रिवेणी चोकबाट कालिकास्थान हुँदै जिल्ला प्रशासन कार्यालय तर्फ सवारी साधन आउजाउ गर्न पाउने छैनन् । कालिकास्थानमा अप्ठेरो बाटोका कारण मोटरसाइकल र पैदल यात्रुलाई आउजाउमा समस्या भएको भन्दै नगरपालिकाले चौतारीको आधा भाग काटेर बाटो सिधा बनाइरहेको छ ।
लेभल मिलाउनका लागि त्रिवेणी चोक–जिल्ला प्रशासन सडकमा पिसिसी ढलान गर्नुपर्ने भएकोले सडक बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर जानकारी गराएको छ । सडक मर्मत गर्नुपर्ने भन्दै मुसिकोट नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई फागुन १४ गते त्रिवेणी चोक देखि जिल्ला प्रशासन कार्यालय जोड्ने सडक बन्द गर्नुपर्ने जानकारी सहितको पत्र पठाएको थियो ।
कालिकास्थानको बाटो सिधा बनाउनका लागि नगरपालिकाले साढे ३ लाख बजेटबाट काम गरिरहेको छ । उक्त बजेट कालिका मन्दिर व्यवस्थापन शिर्षक अन्तर्गत रहेको नगरपालिकाले जनाएको छ ।