Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न महिला सम्मानित 

अन्तराष्ट्रिय महिला दिवसका अवसरमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मान गरेको छ । महिला सशक्तिकरणका लागि भूमिका खेलेको भन्दै गाउँपालिकाले निवर्तमान गाउँपालिका उपाध्यक्ष, कार्यपालिका सदस्य महिला सहित अन्य जनप्रतिनिधि महिला, शिक्षक, कर्मचारी, बाल क्लब सदस्य, किशोरी सदस्य, सुरक्षाकर्मी महिला, राष्ट्रपति रनिङ शिल्डमा जिल्ला स्तरमा स्थान प्राप्त गर्ने छात्रा खेलाडी लगायत २० जनालाई सम्मान गरेको हो ।

विभिन्न क्षेत्रमा महिला सम्बन्धि हितमुलक काम गर्ने अन्य महिलाहरु पनि दिवसको अवसरमा सम्मानित भएका छन् । यसैगरी एकल महिला र महिला श्रमिक गरि १० जनालाई चामल, दाल र तेल वितरण गरिएको छ ।

दिवसका अससरमा आयोजित सचेतनामूलक कार्यक्रमका अवसरमा उत्कृष्ट महिला, एकल र श्रमिक महिलाहरुलाई सम्मान गरिएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो । महिला दिवस सचिवालय संयोजक तथा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो । 

छिनी पुनको स्वागत मन्तव्य तथा महेन्द्र मावि र हिमालय आधारभूत विद्यालयको स्वागत गित रहेको कार्यक्रमको संचालन गाउँपालिकाका लेखा शाखा प्रमुख नवराज खड्काले गर्नुभएको थियो । कार्यक्रममा महिला हिंसा सम्बन्धि सडक नाटक लगायत साँस्कृतिक प्रस्तुतिहरु राखिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update