Kakhara सबैको खबर सम्पूर्ण खबर
स्ववियू निर्वाचनः अध्यक्ष, सचिव, कोषाध्यक्षकै उम्मेदवारी खारेज 

स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनका लागि रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा उम्मेदवारी दिएका तीन संगठनका अधिकांश उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । निर्वाचन कानून अनुसार नभएको भन्दै अध्यक्ष, सचिव र कोषाध्यक्षकै उम्मेदवारी खारेज भएको हो । 

क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले एकल रुपमा उम्मेदवारी दिएको थियो भने उसका विरुद्ध नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियू र विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले मिलेर उम्मेदवारी दिएका थिए । 

जसअनुसार अध्यक्ष सहित १ सदस्यमा नेविसंघ, सचिव सहित २ सदस्यमा अनेरास्ववियू र कोषाध्यक्ष सहित १ सदस्यमा अखिल क्रान्तिकारीको उम्मेदवारी परेको थियो । तर अध्यक्ष पदका उम्मेदवार करिष्मा केसी, सचिव पदका उम्मेदवार दिनेश ओली र कोषाध्यक्ष पदका उम्मेदवार रुपा वस्नेतको उम्मेदवारी खारेज भएको छ । 

 

मुसिकोट खलंगा बहुमुखी क्याम्पस स्ववियू निर्वाचन अधिकृत डम्बरबहादुर खड्काका अनुसार अध्यक्ष केसीका प्रस्तावक महेश ओलीको भर्ना खारेज भएको, सचिव ओलीको वारेस भनिएका व्यक्तिले आफु कसैको वारेस नभएको बताएको र कोषाध्यक्ष रुपा वस्नेतको नाम मतदाता नामावलीमा रुपकुमारी वस्नेत भेटिएकोले उम्मेदवारी खारेज भएको हो । 

त्यस्तै सदस्यका उम्मेदवार नवराज ओलीको समर्थक बसेका महेश ओलीको भर्ना खारेज भएको र सेतु ओलीले उम्मेदवारी फिर्ता लिएपछि २ जना सदस्यको पनि उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत खड्काले बताउनुभयो । अव यो प्यानलबाट उष्मानी पनुमगर र सरस्वती सापकोटाको मात्र उम्मेदवारी कायम भएको निर्वाचन समितिले जारी गरेको उम्मेदवारको अन्तिम नामावलीमा उल्लेख छ । 

उता अखिल क्रान्तिकारीका भने सबैको उम्मेदवारी कायम भएको छ । अखिल क्रान्तिकारीबाट अध्यक्षमा रमेश केसी, सचिवमा दुर्गाप्रसाद विश्वकर्मा, कोषाध्यक्षमा तुलसा खनाल र सदस्यहरुमा आशिष खत्री, यमराज डाँगी, बिष्णु ओली तथा लोकेन्द्र विकको उम्मेदवारी कायम भएको छ । निर्वाचन तालिका अनुसार मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा चैत्र ३ गते स्ववियू निर्वाचन हुँदै छ ।

निर्वाचन समितिले प्रकाशन गरेकाे उम्मेदवारकाे अन्तिम नामावली:

335078391_172000255605800_8864082644891097466_n1678413840.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update