Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम महोत्सव आजबाट 

रुकुम पश्चिममा आजबाट रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव संचालन हुँदै छ । मुसिकोट नगरपालिका वडा नम्वर १ खंलगा स्थित बराहटाकुरामा आज देखि रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव सुरु हुन लागेको हो । 

‘रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन् । 

आजबाट सुरु हुने महोत्सव चैत्र ७ गतेसम्म संचालन हुने छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव मुल आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव आज दिउँसो १ वजे उद्घाटन गरिने छ । महोत्सवको मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुहुने छ । 

उद्घाटन समारोहमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित स्थानीय झाँकीहरु प्रदर्शन हुने बताइएको छ । महोत्सवमा भोलीबाट मात्र टिकट शुल्क लाग्ने छ । महोत्सव अवधिभर कलाकारहरु आर्यन सिग्देल, ज्योती मगर, बद्री पंगेनी, पशुपती शर्मा, प्रकाश सपुत, एलिना चौहान लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राख्ने आयोजकले जनाएको छ । 

त्यस्तै महोत्सवमा १ सय जति व्यापारिक स्टलहरु रहने छ । महोत्सवकै क्रममा नृत्य आइडल समेत संचालन हुने संयोजक परियारले बताउनुभयो । लाइभ दोहोरी सहित अन्य रमाइला प्रस्तुति तथा मनोरञ्जनका लागि विभिन्न साधनहरु पनि महोत्सवमा रहने उहाँको भनाई छ । महोत्सव हेर्नका १ सय रुपैंया टिकट शुल्क लाग्ने बताइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update