रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव सुरू भएकाे छ । मुसिकोट नगरपालिका वडा नम्वर १ खंलगा स्थित बराहटाकुरामा आयाेजित महाेत्सवकाे मुसिकाेट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभयाे । एक कार्यक्रमका विच महाेत्सवकाे उद्घाटन गरिएकाे हाे ।
राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान रूकुम पश्चिमका अध्यक्ष तुल देवकाेटाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मुसिकाेट नगरपालिकाका प्रमुख महेन्द्र केसीकाे प्रमुख र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको विशेष आतिथ्यता रहेकाे थियाे । त्यस्तै कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
अहिले उद्घाटन समाराेह चलिरहेकाे छ । कार्यक्रमकाे संचालन महाेत्सव संयाेजक डिल्ली परियारले गरिरहनुभएकाे छ । आजबाट सुरु हुने महोत्सव चैत्र ७ गतेसम्म संचालन हुने छ ।
‘रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार’ भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन् ।
उद्घाटन समारोहमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित स्थानीय झाँकीहरु प्रदर्शन भइरहेका छन् । महोत्सव अवधिभर कलाकारहरु आर्यन सिग्देल, ज्योती मगर, बद्री पंगेनी, पशुपती शर्मा, प्रकाश सपुत, एलिना चौहान लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राख्ने आयोजकले जनाएको छ ।
त्यस्तै महोत्सवमा १ सय जति व्यापारिक स्टलहरु रहेका छन् । महोत्सवकै क्रममा नृत्य आइडल समेत संचालन हुने संयोजक परियारले बताउनुभयो । लाइभ दोहोरी सहित अन्य रमाइला प्रस्तुति तथा मनोरञ्जनका लागि विभिन्न साधनहरु पनि महोत्सवमा रहने उहाँको भनाई छ । महोत्सव हेर्नका १ सय रुपैंया टिकट शुल्क लाग्ने बताइएको छ ।