रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका विभिन्न ठाउँमा सोमबार देखि अटो रिक्सा संचालनमा आएका छन् । नगरपालिकाको अटो तथा इ–रिक्सा कार्यविधि अनुसार आज देखि अटो संचालनमा आएका हुन् । नगर प्रमुख महेन्द्र केसीले अटो रिक्सा सेवाको उद्घाटन गर्नुभयो ।
अव नगरपालिकाका विभिन्न ६ वटा रुटमा अटो रिक्सा संचालन हुने छन् । त्यस्तै नगरपालिकाले भाडादर पनि निर्धारण गरेको छ । दुरी अनुसार भाडा निर्धारण गरिएको हो । पक्की सडकमा प्रतिकिलोमिटर रुपैंया १२ र कच्चि सडकमा प्रतिकिलोमिटर १५ रुपैँया भाडा तोकिएको छ ।
सल्ले देखि खंलगा सम्म ५०, सल्ले देखि शेरीगाउँसम्म ७५, सल्ले देखि पिपलनेटा सम्म १ सय, सल्ले देखि सितलपोखरीसम्म १ सय र सल्ले देखि मुसिडाँडासम्म १ सय २५ रुपैँया भाडा निर्धारण गरिएको नगरपालिका निमिक्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिनुभयो ।
लामो दुरी अन्तर्गत सल्ले देखि सानीभेरी गाउँपालिकाको सिमानासम्म १ सय ८०, सल्ले देखि स्याउलीवजारसम्म २ सय, सल्ले देखि झुल्खेतसम्म १ सय ५०, सल्ले देखि खोपिचार सम्म ३ सय ५० र सल्ले देखि राउखेतसम्म १ सय ५० भाडादर कायम गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले नगर भरमा २४ वटा अटो रिक्सालाई संचालन अनुमति दिए पनि अहिले १९ वटा मात्रै अटोहरु आइपुगेका छन् । अन्य अटोरिक्सा ल्याउने प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको छिवाङ जिउला–सादनचौर–माछमी हुँदै खलंगासम्म ६ वटा, स्याउली बजार–सोलावाङ हुँदै खलंगासम्म ४ वटा र होल्तारा–झुल्खेत हुँदै खलंगासम्म ४ वटा अटो संचालनका लागि अनुमति प्रदान गरिएको छ ।
त्यस्तै नगरको घोरखानी–साँख हुँदै खलंगासम्म ४ वटा, पशुपती मावि रातामाटा हुँदै खलंगासम्म २ वटा र खलंगा–सल्ले–शेरिगाउँ–पिपलनेटा–शितलपोखरी–मुसिकोटडाँडासम्म ४ वटा अटो संचालन हुने छन् ।