Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा अवैध बन्दुककाे बिगबिगी, २० दिनमा २१ थान बन्दुक बरामद
खानतलास गर्दा फेला परेका अवैध भरूवा बन्दुक ।

रुकुम पूर्वमा पछिल्लो समय निरन्तर भरुवा बन्दुक फेला परिरहेका  छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार २० दिनको अवधिमा २१ थान बन्दुक बरामद गरिएको छ । फागुन ८ देखी २८ गते सम्म उक्त बन्दुक बरामद गरेको प्रहरीको भनाई छ  । विशेष सूचनाको आधारमा खोज तलास गर्दा विभिन्न ठाउँबाट बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । 

उहाँका अनुसार फागुन ८ गते पहिलो पटक भूमे गाउँपालिका वडा नम्बर ३ को तुनवाङ खोलाको जङ्गलबाट ६ थान भरुवा बन्दुक बरामद गरिएको थियो । यस्तै फागुन २० गते सिस्ने गाउँपालिका वडा नम्बर ५ को रानीकोट सामुदायिक वनबाट दुई थान, फागुन २६ गते भूमे गाउँपालिका वडा नम्बर ३ स्थित कागती खोलाको जङ्गलबाट तीन थान बन्दुक बरामद भएको थियो ।

फागुन २८ गते आइतबार पनि विशेष सूचनाको आधारमा खोज तलास गर्दा सिस्ने गाउँपालिका वडा नम्बर २ को तैलेटा जङ्गलको ओढारबाट १० थान बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त बन्दुकहरु जिल्ला कार्यालयमा राखिएको छ । अवैध बन्दुकका बारेमा गोप्य सूचना प्राप्त हुन थालेपछि लगातार बन्दुक फेला परिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । बन्दुक फेला परेपनि बन्दुक कसले राख्यो भन्ने बारेमा भने प्रहरी बेखवर छ । 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update