रुकुम पूर्वमा घरमा भरुवा बन्दुक फेला परेपछि पक्राउ परेका दुई जनालाई रुकुमकोट जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर २ तुवाङका कमारा रोका र सुरेश घर्तिमगरको घरबाट लोड गरिएको अवस्थामा रहेका १÷१ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको थियो ।
बन्दुक सहित उनीहरु दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले मुद्दा चलाएको थियो । अनुसन्धान प्रकृया पुरा भए पश्चात अदालतमा मुद्दा पेश गरिएकोमा अदालतले दुवै जनालाई धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुयभो ।
अदालतले सुरेश घर्तीमगरलाई २ लाख र कमारा रोकालाई १ लाख ३० हजार धरौटीमा रिहा गरेको उहाँले बताउनुभयो । अवैध भरुवा बन्दुक छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लोड गरिएको दुई थान भरुवा बन्दुक सहित उनिहरुलाई फागुन ४ पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार कमारा फागुन २५ गते र सुरेश फागुन २८ गते रिहा भएका हुन् । रुकुम पूर्वमा पछिल्ला दिनहरुमा लगातार अवैध भरुवा बन्दुकहरु फेला परिरहेका छन् । पछिल्लो २० दिनमा २१ थान अवैध भरुवा बन्दुक फेला परेका छन् । तर यि दुई बाहेक अन्य ब्यक्ति भने पक्राउ पर्न सकेका छैनन् ।