रुकुम पश्चिमका तीन क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको नतिआ आएको छ । मुसिकोटको रुकुमेली क्याम्पस, चौरजहारीको जहारी क्याम्पस खोलागाउँ र आठबीसकोटको राडीजिउला शिक्षा क्याम्पसमा आइतबार नेतृत्वका लागि मतदान भएको थियो ।
उक्त तीन वटै क्याम्पसको स्ववियु निर्वाचनको नतिजा आइसकेको छ । रुकुमेली क्याम्पसमा नेविसंघ विजयी भएको छ । अध्यक्षमा अनिशेष केसी, सचिवमा सन्तोष खड्का, कोषाध्यक्षमा शिव खड्का र सदस्यहरुमा अंकित शर्मा, कृष्ण शर्मा, डाइलसन देवकोटा निर्वाचित हुनुभएको छ ।
अनिशेषले ६५ मत पाएर विजयी हुँदा अध्यक्षका उम्मेदवार अनेरास्ववियु समाजवादीकी भावना शर्माले ४४, अखिल क्रान्तिकारीका शुसिल रोकाले ४० र स्वतन्त्र दिपक केसीले १९ मत पाएको रुकुमेली क्याम्पस स्ववियु निर्वाचन अधिकृत शिवराम खत्रीले जानकारी दिनुभयो ।
त्यस्तै २ सदस्य अखिल क्रान्तिकारीबाट निर्वाचित भएका छन् । उमा बुढामगर र रमेश बुढामगर सदस्यमा निर्वाचित हुनुभएको हो । रुकुमेली क्याम्पसमा १ सय ७२ प्रत्यक्ष तर्फ र १ सय ७१ मत समानुपातिक तर्फ खसेको थियो । समानुपातिक तर्फ नेविसंघले ८६, अखिल क्रान्तिकारीले ४०, अनेरास्ववियु समाजवादीले ३० मत पाएको निर्वाचन अधिकृत खत्रीले बताउनुभयो ।
रुकुमेली क्याम्पसमा अखिल क्रान्तिकारीले नेविसंघलाई सघाउने सहमति भएको थियो । राडीजिउला शिक्षा क्याम्पसमा सबै संगठन मिल्दा पनि अखिल क्रान्तिकारी विजयी भएको छ । अध्यक्षमा दिपक केसी निर्वाचित हुनुभएको छ ।
यहाँ अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ । सचिवमा निराजन ऐरी, कोषाध्यक्षमा रमा महतारा निर्वाचित हुनुभएको छ । राडीजिउलामा नेविसंघले अखिल क्रान्तिकारीलाई सघाउने निर्णय भएको थियो । तर दुवै क्याम्पसमा भएको सहमति कार्यान्वन भएको देखिएन ।
जहारी क्याम्पस खोलागाउँमा पनि अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ । अध्यक्षमा भरत बिक निर्वाचित हुँदा सचिवमा महेश ओली र कोषाध्यक्षमा अनुशा रोका निर्वाचित हुनुभएको छ । त्रिवि अन्तर्गतका कुल ७ क्याम्पस मध्यमा अन्य ४ क्यापसमा भने सहमतिमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । सहमति भएका सबै क्याम्पसमा अखिल क्रान्तिकारीले अध्यक्ष सहित पदाधिकारी र अधिकांश सदस्य पाएको छ ।
सहमति भएका मध्य शितल क्याम्पस चौरजहारीको अध्यक्षमा निराजन केसी, स्यार्पू बहुमुखी क्याम्पस बाँफिकोटको अध्यक्षमा किरण विश्वकर्मा, सिम्रुतु क्यापस त्रिवेणीको अध्यक्षमा निर्मला बुढाथोकी, सानीभेरी शिक्षा क्याम्पस सानीभेरीको अध्यक्षमा विरभान भण्डारी निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
त्रिवि अन्तर्गतका देशभरका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदान भएको हो । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा भने स्ववियु निर्वाचन तत्कालका लागि स्थगित भएको छ । उच्च अदालत सुर्खेतमा मुद्धा परेका कारण निर्वाचन रोकिएको हो । मुसिकोटमा कहिले निर्वाचन हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको निर्वाचन समितिले जनाएको छ ।