रुकुम पश्चिमको मुसिकोटमा जारी साँस्कृतिक तथा व्यापारिक महोत्सवको ११ औं दिन आज गायिका एलिना चौहान लगायतका कलाकारहरुले प्रस्तुति राखेका छन् । पछिल्लो समय युवा पुस्ता माझ चर्चित गायिका चौहानले महोत्सवमा विभिन्न गित गाएर दर्शकलाई मनोरञ्जन दिनुभएको थियो ।
विशेष गरी धोकेबाज हौ तिमी भन्ने गितले चौहानलाई धेरैका विचमा परिचित बनाएको छ । यही गितका कारण मेला महोत्सवमा उहाँको माग धेरै छ । एलिना आउने भएपछि गाउँ गाउँबाट मान्छेहरु महोत्सव हेर्न पुगेका थिए । मौसमले साथ नदिएपनि महोत्सव स्थलमा खचाखच दर्शकहरु भरिएका थिए ।
बिहानैबाट मौसम बदलिएको थियो । दिउँशोपछि भने झरी नै परेको थियो । तर पनि मान्छेहरु हलचल नभई महोत्सवमा रमाएका छन् । एलिनाको प्रस्तुतिमा दर्शकलाई थाम्नै मुश्किल परेको थियो । सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । झरीका विचमा पनि ठूलो संख्यामा दर्शक देखेपछि चौहानले खुसी व्यक्त गर्नुभयो ।
आफु गएका कार्यक्रम मध्यको यो उत्कृष्ट कार्यक्रम रहेको चौहानले प्रतिक्रिया दिनुभयो । गायिका चौहानसंगै आज महोत्सवमा लोक दोहोरी गायक चन्द्र शर्माले पनि प्रस्तुती राख्नुभएको थियो । झरीका विचमा पनि दर्शकहरु महोत्सवमा झुमेका थिए । फागुन २६ गतेबाट सुरु भएको महोत्सव भोलीसम्म संचालन हुने आयोजकले जनाएको छ ।
महोत्सवको अन्तिम दिन भोली लोक दोहोरी गायक पुष्कल शर्मा लगायतका कलाकार आउने महोत्सव संयोजक डिल्ली परियारले जानकारी दिनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिम र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन् ।