
रुकुम पश्चिममा पहिलो पटक चैते धान रोपिएको छ । परीक्षणका रुपमा मुसिकोट नगरपालिका वडा नम्बर ४ को सोलाबाङमा चैते धान रोपिएको हो । जिल्लामा चैते धानको सम्भाव्यता अध्यनका लागि सोलाबाङमा करिब ३ रोपनी खेतमा हर्दिनाथ–१ जातको चैते धान रोपिएको हो ।
कृषि विकास कार्यालयको आर्थिक वर्ष २०७९/०८० को चैते धान उत्पादन प्रदर्शन कार्यक्रम अन्तर्गत चैते धान रोपिएको कृषि विकास कार्यालयका प्रमुख मिनबहादुर केसीले बताउनुभयो । पानी कम हुने, तटिय क्षेत्र लगायतका स्थानमा चैते धान राम्रो उत्पादन हुने केसीको भनाई छ ।
प्रयाप्त पानीको अभावमा जग्गा बाँझो राख्ने क्रमलाई रोक्न, खाद्य सुरक्षामा टेवा पुर्याउन र चामलको आयात प्रतिस्थापन गर्नका लागि जिल्लामा चैते धानको सम्भाव्यता अध्यन भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।
त्यस्तै वर्खे धानको तुलनामा चैते धानको उत्पादन समेत बढी हुने र गहुँको तुलनामा राम्रो उत्पादन हुने भएकोले जिल्लामा चैते धानलाई प्रवद्र्धन गर्न लागिएको छ । सोलाबाङका कृषक दिपेशकुमार खड्काको खेतमा पहिलो पटक धान रोपिएको कृषि विकास कार्यालयका प्राविधिक सहायक महेश चन्दले बताउनुभयो ।
किसानले फाट्ट फुट्ट रुपमा यसअघि चैते धान लगाउने गरेपनि जिल्लामा संस्थागत रुपमा पहिलो पटक चैते धान रोपिएको उहाँले बताउनुभयो । यसका लागि कार्यालयले मल, बीउ, प्लाष्टिक, विषादी, प्राविधिक सेवा लगायतको सहयोग गरेको उहाँले बताउनुभयो । यो कार्यक्रम सफल भएमा आगामी वर्ष देखि विस्तार गर्दै लैजाने कृषि विकास कार्यालयको भनाई छ ।
यो कार्यक्रम सफल भएमा जिल्ला धानमा थप आत्मनिर्भर हुने र आयातलाई घटाउन टेवा पुग्ने विश्वास गरिएको छ ।