रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ छेडाका लोकबहादुर खत्री मृत फेला पर्नुभएको छ । घाँस काट्न जान्छु भनेर चैत्र १ गते बिहान ८ बजे घरबाट निस्किनुभएका ६१ वर्षिय खत्री आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपाल प्रहरीको कुकुरको सहायताबाट खोज तलास गर्दा खत्रीको सव फेला परेको प्रहरीले जनाएको छ ।
वडा नम्बर ३ को छेडा देखि माछिमी जाने भित्री सडक खण्डको गड्याङ भन्ने स्थानमा सडक देखि करिब ५०/६० मिटर तल माटोमा पुरिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।
बोल्न नसक्ने खत्री सम्पर्क विहिन भएपछि परिवारजनले खोजी जारी राखेका थिए । प्रहरीमा समेत निवेदन दिएका थिए । त्यसपछि परिवारजन, आफन्त र प्रहरीले खोजी जारी राखेको थिए । घटना शंकास्पद रहेको र अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताउनुभयो ।
शंकास्पद लागेपछि उक्त सडक खण्डमा काम गरिरहेका दुई मध्ये एक डोजरका १ चालक र १ सह–चालकलाई प्रहरीले पक्राउ गरेको छ । अर्को डोजरका चालक र सह चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।