रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगाको बराहटाकुरामा संचालन भएको महोत्सवबाट उठेको रकमबाट दुई जना क्यान्सर पीडितलाई सहयोग गरिएको छ । जिल्लाको सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाका २ जना क्यान्सर पिडितलाई आयोजकले १०/१० हजार आर्थिक सहयोग गरेको हो ।
क्यान्सर राेगी सानीभेरी गाउँपालिकाका जनक ओली र त्रिवेणी गाउँपालिका १० की बेलमती नेपालीलाई उपचारमा सहयोग पुगोस भनेर १०/१० हजार सहयोग गरेको महोत्सव संयोजक डिल्ली परियारले जानकारी दिनुभयो । त्यस्तै आयोजकले स्थानीय कलाकारहरुलाई पनि सहयोग गरेको छ ।
महोत्सव अवधिभर सहयोग गरेको भन्दै आयोजकले प्रोत्साहन स्वरुप स्थानीय कलाकारहरुलाई ४० हजार नगद दिएको हो । यसपटक महोत्सवमा स्थानीय कलाकारहरुलाई प्राथमिकता दिइएको थियो । स्थानीय जुम्बा ग्रुपका कलाकारहरुले महोत्सवमा प्रस्तुति राखेका थिए ।
त्यस्तै बराहटाकुरामा रहेको कबर्डहलमा बत्ति व्यवस्थापनका लागि १२ हजार सहयोग गरेको महोत्सव संयोजक परियारले बताउनुभयो । महोत्सवमा उठेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्ने योजना अनुसार बिरामी, कलाकार देखि अन्य क्षेत्रका लागि केही रकम सहयोग गरिएको उहाँको भनाई छ ।
फागुन २६ गतेबाट सुरु भएको महोत्सव १२ दिन संचालन भएर मंगलबार सम्पन्न भएको हो । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिम र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन् ।