रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. २ थारकाट्नेमा मौरीमा अज्ञात रोग देखा परेको छ । उक्त ठाउँका ६ कृषकले पालेका मौरी अज्ञात रोगका कारण मर्न थालेका हुन् । करिव एक हप्ता देखि मौरी मर्न थालेको कृषक प्रजित गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार थारकाट्नेका कृषकको ३५ ओटा घारमा रोगको प्रकोप देखिएको हो । मौरी घारबाट निक्ले पछि उड्न नसकेर जमिनमा झर्ने र त्यहि मर्ने गरेको उहाँको भनाई छ ।
यो वर्ष राम्रो मह उत्पादन गर्न नसकेका किसान मौरी मर्न थाले पछि भने झनै चिन्तित बनेका छन् । कृषकका अनुसार ३५ ओटा घारमा रहेका सबै मौरी मरेर सकिन थालेका छन् । मौरीमा देखिएको रोगको प्रकोप देखिएको ठाउँमा गाउँपालिकाबाट कृषि प्राबिधिकको टोली पुगे पनि रोग पत्ता नलागेको अर्का किसान देविलाल गौतमले जानकारी दिनुभयो । मौरी मर्ने समस्या देखिएपछि गाउँपालिकामा जानकारी गराई प्राविधिकलाई देखाइएको थियो ।
गाउँपालिकाबाट आएको प्राविधिक टोलीले रोग नियन्त्रणको लागि औषधि दिएको भए पनि उक्त औषधिले काम नगरेको किसान गौतमले जानकारी दिनुभयो । रोग पहिचान नहुँदा रोग नियन्त्रणमा चुनौति थपिएको छ । वडाको जिपु, थारकाट्ने लगायत क्षेत्र मौरी पाल्नको लागि राम्रो मानिन्छ । तर मह उत्पादनमा भएको गिरावट र पछिल्लो समयमा देखिएको रोगको प्रकोप पछि किसान चिन्तित भएका छन् ।