रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । विद्यालयबाट घर फर्किने क्रममा बिहिबार आठबीसकोट नगरपालिका वडा नम्बर ११ गोइरीका महेन्द्र परियारका ९ वर्षिय छाेरा दिपरोशन परियारको माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
वडामै रहेको बालकल्याण माध्यमिक विद्यालयमा कक्षा २ मा अध्यनरत दिपरोशनकाे घर फर्किने क्रममा घर देखि ३ सय मिटर नजिकै गोरेटोबाटो भन्दा अन्दाजी ६०/७० मिटर माथिबाट खसेको ढुंगाले टाउकोमा लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो ।
घटनाको बारेमा जानकारी आएपछि आठबीसकोट इलाका प्रहरी कार्यालयबाट प्रहरी बरिष्ठ हवल्दार बसन्ती गिरी नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी टोली पुग्दा मृतकको शव घरमा ल्याइसकेको प्रहरीले जनाएको छ । ढुंगा कसले खसायो वा कसरी खस्यो भनेर नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।