५ मेगावाट क्षमताको रुकुमगाड जल विद्युत आयोजनाको बत्ति रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ को धैरेनीचौरमा रहेको सबस्टेशनसम्म ल्याउन लाइन परीक्षण सुरु भएको छ । बिहिबार देखि लाइन परीक्षणको काम सुरु भएको नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले जानकारी दिएको छ ।
आयोजनाको सफल परीक्षण पश्चात आयोजना स्थल रुकुम पूर्वको भूमे गाउँपालिका ४ बाट रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा रहेको सव स्टेशनसम्म बत्ति ल्याउने कामको परीक्षण सुरु भएको नेपाल विद्युत प्राधिकरणका रुकुम पश्चिम केन्द्र प्रमुख शिवजी प्रसाद साहले जानकारी दिनुभयो ।
परीक्षणका क्रममा हाल जिल्लामा वितरण भइरहेको लाइन बेला बेला अनियमित हुनसक्ने उहाँले बताउनुभयो । एक सूचना मार्फत यसबारेमा जानकारी गराउँदै वितरण केन्द्रले यसबाट सेवाग्राहीमा पर्ने असुविधाप्रति क्षमा समेत मागेको छ । ५ मेगावाट क्षमताको रुकुमगाड जलविद्युत आयोजनाको काम राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडले गरेको हो ।
यो आयोजना रुकुम पूर्व र पश्चिमकै सबै भन्दा ठूलो विद्युत आयोजना हो । लाइन परीक्षणको काम सफल भएपछि वितरण सुरु गरिने रुकुम पश्चिम वितरण केन्द्र प्रमुख साहले बताउनुभयो । रुकुम पूर्व र पश्चिमलाई पुग्यो भने बाँकी विद्युत सल्यान, दाङसम्म पठाउने गरी व्यवस्था मिलाइएको उहाँकोे भनाई छ ।
परीक्षण सफल भयो भने रुकुम पूर्व र पश्चिमलाई प्रयाप्त विद्युत जिल्लामै उत्पादन हुने उहाँले बताउनुभयो । साथै जिल्लाबाट पहिलो पटक विद्युत निर्यात समेत हुने छ । यस अयोजनाको क्षमता ५ मेगावाट भएपनि हिउँदयाममाभ भने १.५ मेगावाटसम्म विद्युत उत्पादन हुने बताइएको छ ।