Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा १ सय ३ जना क्षयरोगी, सचेतनामा कमी मुख्य चुनाैती

रुकुम पश्चिममा १ सय ३ जना क्षयरोगी उपचाररत छन् । चालु आर्थिक वर्षको हालसम्म जिल्लाभरमा १ सय ३ जना क्षयरोगी उपचाररत रहेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । विश्व क्षयरोग दिवसका अवसरमा आज कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यालयले यस बारेमा जानकारी गराएको हो । 

चालु आर्थिक वर्षको श्रावण १ गते देखि फागुन मसान्तसम्म १ सय ३ जना क्षयरोगका बिरामी भेटिएको स्वास्थ्य सेवा कार्यालयका क्षयरोग फोकल पर्सन कृष्णा खड्काले जानकारी दिनुभयो । उनिहरुको जिल्लाका विभिन्न ठाउँमा उपचार भइरहेको छ । क्षयरोगीको स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा डट्स विधिबाट उपचार हुने गरेको छ । 

फोकल पर्सन खड्काका अनुसार जिल्लामा डट्स विधिबाट ३२ वटा ठाउँमा क्षयरोगको उपचार हुने गरेको छ । जिल्लामा १५ देखि ५४ वर्षका बिरामी धेरै रहेका छन् । वर्षेनी उस्तै उस्तै संख्यामा क्षयरोगी फेला पर्ने गरेको खड्काले बताउनुभयो । आर्थिक वर्ष २०७७/०७८ मा १ सय ३२ र आर्थिक वर्ष २०७८/०७९ मा १ सय ७६ जना क्षयरोगी फेला परेका थिए । 

यो वर्ष पनि अघिल्ला वर्षहरुकै हाराहारीमा बिरामी थपिने देखिएको स्वास्थ्य सेवा कार्यालयले जानकारी गराएको छ । क्षयरोगका बारेमा अझैपनि धेरै व्यक्तिहरु जानकार नभएको जिल्ला अस्पतालका डाक्टर धिरजकुमार दासले बताउनुभयो । अस्पतालमा आउने धेरै बिरामीहरुलाई क्षयरोगका बारेमा जानकारी नहुने गरेको उहाँको भनाई छ । 

क्षयरोग निवारणका लागि यस रोग तथा यसबाट बच्ने उपायका बारेमा सरोकारवाला निकाय सबैले अभियानकै रुपमा काम गर्नुपर्नेमा उहाँको जोड थियो । लक्षण नदेखिएर पनि क्षयरोग लाग्ने भएकोले झनै चुनौती थपिएको उहाँले बताउनुभयो । व्यक्ति सामान्य भएपनि उसमा क्षयरोग हुनसक्ने भएकोले सबै सतर्क हुन आवश्यक रहेको र नियमित स्वास्थ्य जाँच आवश्यक रहेको डाक्टर दासले बताउनुभयो । 

स्वास्थ्यकर्मीको निगरानीमा नियमित उपचार गराए यो रोग पूर्ण रुपमा निको हुने भएपनि यसबारेमा जानकारी नहुँदा धेरै बिरामीहरु उपचारको दायरामा आउन नसकेको उहाँले बताउनुभयो । यसका साथै रोग पहिचान भएपनि नियमित औषधी सेवन नगर्दा क्षयरोग निवारणमा झनै चुनौती थपिएको डाक्टर दासले बताउनुभयो । 

डाक्टर दासको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका क्षयरोग फोकल पर्सन कृष्णा खड्काले जिल्लामा क्षयरोगको अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालिबहादुर ओलीले गर्नुभएको थियो ।


 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update