रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ खरखरेमा आज बिहान एक डबल क्याप बोलेरो जिप दुर्घटना भएको छ । खलंगाबाट तरकारी र फलफूल लिएर सानीभेरी गाउँपालिकाको सिम्ली तर्फ जाँदै गरेको रा १ च १२६४ नम्बरको जिप मध्यपहाडि लोकमार्गको खरखरेमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
घाइते हुनेमा चालक चौरजहारी नगरपालिका वडा नम्बर ३ का २१ वर्षिय विन्दास घर्ती र सल्यान बागचौर नगरपालिका ४ पेदीखोलाका १९ वर्षिय धर्मराज वस्नेत रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टाइले जानकारी दिनुभयो । घाइते मध्ये चालक घर्तीको ढाड, अनुहार र बायाँ आँखाको आँखी भौ माथि चोट लागेको र अवस्था मध्यम रहेको उहाँले बताउनुभयो । त्यस्तै वस्नेतको बायाँ हातमा सामान्य चाट लागेको छ ।
घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । प्रहरी, ट्राफिक प्रहरी र मुसिकोट नगर प्रहरीले घाइतेको उद्धार गरेको मुसिकोट नगर प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक उमेश केसीले बताउनुभयो । उहाँका अनुसार यो जिप मुसिकोट खलंगामा रहेको धनिस स्टोरको हो । घाइते मध्य धर्मराज धनिस स्टोरका संचालक धनिराम वस्नेतका छोरा हुन् । मुसिकोटमा आइतबार मात्र अटो दुर्घटना हुँदा ६ जना घाइते भएका थिए ।