Kakhara सबैको खबर सम्पूर्ण खबर
६ दिने घुम्ती शिविर कति भयो सेवा प्रवाह ?
शिविर अन्तर्गत सचेतना कार्यक्रममा सहभागिहरु ।

झण्डै एक वर्षको कोरोनाकालपछि सबै क्षेत्र, गतिविधि सक्रिय बन्दै छ । लामो समय थलिएका सबै क्षेत्र, निकाय सक्रिय भएजस्तै सरोकारवाला निकाय पनि एकमुष्ट कार्यक्रम, अभियान शिविरमा जुटेका छन् । यसै सन्दर्भमा रुकुम पश्चिमका ५ वटा सरकारी कार्यालय गाउँमै पुगेर सेवा प्रवाह गरेका छन् ।

मालपोत, नापी, जिल्ला प्रशासन, जिल्ला प्रहरी र जिल्ला सरकारी वकीलको कार्यालयले ६ दिन गाउँमै रहेर सेवा प्रवाह गरे । आठबीसकोट नगरपालिको ९ राडीमा फागुन २६, २७ र २८ गते तथा ३ नम्बर वडाको खदीमा फागुन २९ चैत्र १ र २ गते गरी ६ दिन सेवा प्रवाह गरेर उक्त टोली जिल्ला फर्किएको छ । यस बीचमा यी कार्यालयले आ आफूले प्रदान गरिरहेका सेवा प्रवाह त गरे यसको साथसाथै प्रक्रिया र थप सेवा प्रवाहका बारेमा जानकारी गराएका छन् ।

शिविरमा पुगेर फर्किनुभएका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार मालपोत कार्यालयले २ सय १५ कित्ता रजिष्ट्रेशन पासको काम गरेको छ भने ४१ वटा नामसारी गरेको छ । नापि कार्यालयले ५६ वटा कित्ताकाट गरेको छ । अंशवण्डा र रजिष्ट्रेशन पासका लागि ति कित्ता काट गरेको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा, सेवा प्रवाहको अवस्था र प्रक्रियाका बारेमा दुई सय बढीलाई जानकारी दिएको छ । सार्वजनिक सुनुवाई गरी सेवा प्रवाह र त्यसको अवस्था, प्रक्रियाको साथै सर्वसाधारणको गुनासो सुनी सम्बोधन गरिएको प्रजिअ गैह्रेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले अपराध न्युनिकरण, प्रहरी नागरिक सम्बन्ध, सहकार्य, सहयोगका विषयमा सचेतना दिएको छ । जिल्ला सरकारी वकीलको कार्यालयले समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत कानूनी सेचतनाका कार्यक्रम सम्पन्न गरेको छ ।

आठबीसकोट नगरपालिकाको स्थानीय व्यवस्थापनमा शिविर आयोजना गरिएको थियो । जिल्लाबाटै प्रवाह हुने केही सेवाहरु गाउँघरमै उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । जिल्ला स्थित कार्यालय प्रमुख तथा प्रशासकहरु गाउँ जाने, अवस्थाबारे जानकारी लिने भएकाले पनि शिविर आयोजना गरिएको प्रमुख केसीले बताउनुभयो । शिविरबाट अपेक्षित उपलब्धि भएको र जनताहरु पनि खुसी भएको उहाँको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update