रुकुम पश्चिममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जिल्लाभर ९२ वटा पक्की विद्यालय भवन निर्माणको काम जारी छ । आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माणको काम सञ्चालन भइरहेको हो । ६ स्थानीय तह मिलेर बनेको रुकुम पश्चिममा ३ गाउँपालिका र ३ नगरपालिका रहेका छन् । जसमा सबै स्थानीय तहमा अहिले धमाधम राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनोट भएका पक्की विद्यालय भवन निर्माणको काम चलिरहेको छ ।
केही ठाउँमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने केही ठाउँमा एक तलाको काम सम्पन्न गरेर दुई तलाको काम चलिरहेको छ । सानीभेरी गाउँपालिकामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १७ वटा सामुदायिक विद्यालय छनोट भएकामा सबै विद्यालयमा भवन निर्माणको काम धमाधम भइरहेको गाउँकार्यपालिका प्रवक्ता पहलसिंंह घर्तीले जानकारी दिनुभयो ।
त्यस्तै त्रिवेणी गाउँपालिकामा पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनोट भएका २४ वटा सामुदायिक विद्यालय भवन निर्माणको काम जारी रहेको त्रिवेणी गाउँकार्यपालिका प्रवक्ता सुन्दर ओलीले बताउनुभयो । उहाँका अनुसार कुनै विद्यालय भवन ठेकेदार मार्फत निर्माण भइरहेका छन् । भने कुनै स्थानीय निर्माण समिति मार्फत । निर्माण कार्य सञ्चालन भइरहेका विद्यालयहरुमा गाउँपालिकाले बेला बेला अनुगमन पनि गरिरहेको प्रवक्ता ओलीले बताउनुभयो ।
यो आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जिल्लाको आठबीसकोट नगरपालिकामा १९, चौरजहारी नगरपालिकामा १२, बाँफिकोट गाउँपालिका र मुसिकोट नगरपालिकामा १०/१० वटा सामुदायिक विद्यालय भवन निर्माण कार्य जारी छ । निर्माणाधिन भवन २ कोठे भवन र ४ कोठे रहेका छन् । २ कोठे भवन निर्माणको लागि २५ लाख र ४ कोठे भवनको लागि ५० लाख बजेट आएको छ । राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तर्गत हरेक वर्ष विद्यालय भवन र आइसिटी ल्याबका लागि बजेट आउँने गरेको छ ।