रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले पशु शाखा कार्यालयको सेवा दुई ठाउँबाट दिन थालेको छ । आइतबार ४ नम्बर वडाको छिनखेतमा पनि पशु सेवा सुचारु गरे संगै गाउँपालिकाका २ ठाउँबाट पशु सेवा दिन सुरु भएको हो । यस अघि पशु शाखाको सेवा वडा नम्बर ४ मै रहेकाे गाउँकार्यपालिकाको कार्यालय नजिकै भाडाको घरबाट प्रवाह भइरहेको थियो ।
आइतबार वडा नम्बर ४ छिनखेतमा उद्घाटन भएको पशु शाखाको कार्यालय पनि भाडाकै भवनमा राखिएको छ । गाउँपालिकामा रहेका १० वडा मध्य १, २, ९ र १० नम्बर वडाका नागरिकलाई सहज होस् भनेर छिनखेतमा शाखा स्थापना गरिएको गाउँकार्यपालिका प्रवक्ता प्रकाश खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अव हिजो स्थापना भएको शाखा कार्यालय र पहिलेको सहायक पशु सेवा कार्यालयको रुपमा रहने छ । पालिका भित्रका नागरिकले जहाँबाट सहज हुन्छ सोही कार्यालयबाट सेवा लिन सक्ने छन् । दुई ठाउँबाट सेवा प्रवाह हुँदा पनि कर्मचारीको समस्या नहुँने गाउँपालिकाले जनाएको छ । शाखामा कार्यरत कर्मचारीलाई दुवै ठाउँमा बाडँफाड गरेर सेवा प्रवाह सुरु गरिएको हो ।
आइतबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष जनककुमार बाँठा र उपाध्यक्ष तारा बुढा केसीले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दर्गबहादुर ओली, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्नबहादु केसी, पशु शाखा प्रमुख कृृष्णबहादुर खत्री, महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पुष्पा ददेल लगायतको उपस्थिति रहेको थियो ।