रुकुम पश्चिममा माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पुरा भएको छ । शुक्रबारबाट सुरु हुने परीक्षालाई शान्त, भयरहित र मर्यादित वातावरणमा संचालन गर्नका लागि सबै तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ । केन्द्राध्यक्षलाई अभिमुखिकरण गर्ने, परीक्षा केन्द्रसम्म प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउने देखि अन्य व्यवस्थापनका काम पुरा भएको शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक डायमण्ड पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका २३ वटै परीक्षा केन्द्रमा केन्द्राध्यक्षलाई आवश्यक अभिमुखिकरण गरेर प्रश्न पत्र र उत्तरपुस्तिका सहित पठाइसकिएको छ । त्यस्तै अन्य कर्मचारी परिचालनको काम पनि भइसकेको छ । जिल्लाका २३ वटा केन्द्रमा परीक्षा हुँदै छ । जसमा २३ जना केन्द्राध्यक्ष, २८ जना सहायक केन्द्राध्यक्ष, २० विद्यार्थी बराबर १ जनाका दरले २ सय ११ जना परीक्षा निरिक्षक, ४२ जना विद्यार्थी बराबर १ जना गरेर १ सय जना परीक्षा सहायक, ५० विद्यार्थी बराबर १ जना गरेर ५० जना कार्यालय सहयोगी परिचालन हुने पुनले बताउनुभयो ।
त्यस्तै सुरक्षाका लागि एउटा परीक्षा केन्द्रमा बढीमा १५ जनासम्म सुरक्षाकर्मी परिचालन हुने छन् । जिल्लामा यो वर्ष कुल ४ हजार २ सय १६ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन् । यो गत वर्षको भन्दा १४ जनाले कम हो । गत वर्ष ४ हजार २ सय ३० जना परीक्षार्थी थिए । जिल्लामा रहेका १ खुला सहित ७७ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालय गरी कुल ८२ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । २ वटा संस्थागत माविमा भने यो वर्ष विद्यार्थी नरहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
कुल परीक्षार्थी मध्ये साधारण तर्फ २ हजार ६ जना छात्र र २ सय ८७ छात्रा गरी ४ हजार ९३ जना रहेका छन् भने प्राविधिक तर्फ ४७ जना छात्र र ३४ जना छात्रा गरी ८१ जना परीक्षार्थी छन् । त्यस्तै ग्रेड बृद्धि तर्फ ४२ जना परीक्षार्थी रहेका छन् । जसमा १९ छात्र र २३ छात्रा छन् ।