रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा सञ्चालित सिम्रुतुखोला लघु जलविद्युत आयोजनाले झण्डै ३ वर्षपछि विद्युत महसुल शुल्क घटाएको छ । संचालक समितिको बैठकले चैत १ गते देखि लागु हुनेगरि विद्युत महसुल शुल्क घटाएको हो । प्रति महिना न्युनतम १ सय रुपैँया विद्युत महसुल शुल्क उठाउँदै आएको आयोजनाले अव भने नेपाल विद्युत प्राधिकरणकै दर रेट न्युनतम ३० रुपैयाँमा झारेको बताएको छ ।
यस अघि सिम्रुतु खोला जलविद्युत आयोजनाका उपभोक्ताले मासिक न्युनतम १ सय रुपैयाँ महशुल बुझाउँदै आएका थिए । यस आयोजनाबाट लाभान्वित प्रत्यक घरमा स्मार्ट मिटर बक्स जडान गरिएको छ । मिटर बक्समा रिचार्ज हाल्नुपर्ने र रिचार्ज सकियो भने आयोजनाको कार्यालय सिम्रुतुमै झर्नु पर्ने बाध्यता ग्रहाकलाई रहेको छ ।
यसअघि आयोजनाको महशुल महँगो भएको भन्दै उपभोक्ताले बारम्बार आवाज उठाउँदै आएका थिए । तर यसमा लामो समयसम्म कुनै सुनुवाइ भएको थिएन् । ग्राहकको दबावका विच आयोजनाले न्युनतम महशुल घटाएको हो । ग्राहकको गुनासो र सहजताका लागि न्युनतम मासिक महशुल घटाइएको आयोजनाले जनाएको छ ।
यस आयोजनाबाट त्रिवेणी गाउँपालिकाका वडा नम्बर १, २, ५, ६ र ७ संगै मुसिकोट नगरपालिका ११ र १२ नम्बर वडाका नागरिकहरुले सेवा लिँदै आएका छन् । आयोजना निर्माणका लागि बैंकबाट लिएको १ करोड ऋण चुक्ता भएपछि संचालक समितिले न्युन्तम मासिक ३० रुपैयामा झारेर चैत १ गते देखि लागु समेत भइसकेको आयोजना सञ्चालक समितिका अध्यक्ष लक्ष्मन ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोजना निर्माणको लागि प्रति घरधुरी १५ देखि ३६ हजारसम्म उठाइएको थियो । जनताले उठाएको २ करोड, वैकल्पिक उर्जा पवद्र्धन कार्यालयबाट अनुदानमा प्राप्त भएको ५ करोड र बैंकबाट एक करोड ऋण गरेर ८ करोड लागतमा आयोजनाको काम सम्पन्न भएको थियो । बेला बेलामा विद्युत उत्पादन गृहका मेसेनरी सामग्री बिग्रिदा र कर्मचारीहरुको व्यवस्थापन गर्दा अहिलेसम्म आयोजनाले १५ करोड जति खर्च भईसकेको जनाएको छ ।
न्युन्तम मासिक शुल्क ३० रुपैयाँ कायम भएपछि स्मार्ट मिटर बक्सबाट सेटिङ गरेर शुल्क घटाउने काम जारी छ । आयोजनाका कर्मचारीहरुले त्रिवेणी गाउँपालिका वडा नम्बर ६ बाट काम सुरु गरिसकेको अध्यक्ष ओलीले बताउनुभयो । यस आयोजनाका ११ सय घरधुरी उपभोक्ता रहेका छन् ।