Kakhara सबैको खबर सम्पूर्ण खबर
एसइई परीक्षा सुरु, रुकुम पश्चिममा ४ हजार २ सय १६ परीक्षार्थी 

माध्यमिक शिक्षा परीक्षा देशभरमा सुरु भएको छ । अहिले बिहान ८ बजेदेखि देशभरमा परीक्षा सुरु भएको हो । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । रुकुम पश्चिममा एसइईमा यो वर्ष कुल ४ हजार २ सय १६ जना परीक्षार्थी रहेका छन् । 

यो गत वर्षको भन्दा १४ जनाले कम हो । गत वर्ष ४ हजार २ सय ३० जना परीक्षार्थी थिए । जिल्लामा रहेका १ खुला सहित ७७ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालय गरी कुल ८२ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । २ वटा संस्थागत माविमा भने यो वर्ष विद्यार्थी नरहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । 

कुल परीक्षार्थी मध्ये साधारण तर्फ २ हजार ६ जना छात्र र २ हजार ८७ छात्रा गरी ४ हजार ९३ जना रहेका छन् भने प्राविधिक तर्फ ४७ जना छात्र र ३४ जना छात्रा गरी ८१ जना परीक्षार्थी छन् । त्यस्तै ग्रेड बृद्धि तर्फ ४२ जना परीक्षार्थी रहेका छन् । जसमा १९ छात्र र २३ छात्रा छन् ।

जिल्लाका २३ वटा परीक्षा केन्द्रमा परीक्षा सुरु भएको छ । परीक्षाका लागि २३ जना केन्द्राध्यक्ष, २८ जना सहायक केन्द्राध्यक्ष, २० विद्यार्थी बराबर १ जनाका दरले २ सय ११ जना परीक्षा निरिक्षक, ४२ जना विद्यार्थी बराबर १ जना गरेर १ सय जना परीक्षा सहायक, ५० विद्यार्थी बराबर १ जना गरेर ५० जना कार्यालय सहयोगी परिचालन भएका छन् । 

त्यस्तै सुरक्षाका लागि एउटा परीक्षा केन्द्रमा बढीमा १५ जनासम्म सुरक्षाकर्मी परिचालित छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update