Kakhara सबैको खबर सम्पूर्ण खबर
दुई सय जनसत्ताका लिखत रजिष्ट्रेशन पास
घरजग्गा रजिष्ट्रेशन पासका लागि शिविरमा आएकाहरु ।

पछिल्लो पटक रुकुम पश्चिमका झण्डै दुई सय जनसत्ताका लिखतले कानूनी मान्यता पाएका छन् । तत्कालिन जनयुद्धको क्रममा सञ्चालित जनसत्ता मार्फत रजिष्ट्रेशन पास गरिएका जग्गा मालपोतमा पास गरिएको हो । आठबीसकोट नगरपालिकाका विभिन्न वडाका १ सय ९९ कित्ता मालपोत कार्यालयमा रजिष्ट्रेशन पास भएका छन् ।

नगरपालिकाको स्थानीय व्यवस्थापनमा गरिएको ६ दिने घुम्ती शिविरका क्रममा ति कित्ता मालपोत कार्यालय मार्फत रजिष्ट्रेशन पास भएका हुन् । नगरपालिका केन्द्र राडीमा ३ र ३ नम्बर वडाको खदीमा ३ दिन गरी ६ दिनसम्म भएको शिविरको क्रममा जग्गाधनीले जग्गा किनेकालाई जग्गा पास दिएका हुन् । 

३ नम्बर वडाध्यक्ष केशमान विकले जनसत्ताका अधिकांश लिखत अब मालपोतमै पास भएको जानकारी दिनुभयो । अब ३ नम्बर वडामा २१ कित्ता मात्रै बाँकी रहेको उहाँले बताउनुभयो । कति जग्गा दिने र कति लिने मान्छे गाउँ बाहिर रहेकाले हाल ति कित्ता छुटेको र आगामी दिनमा ति कित्ता पनि पास हुने अध्यक्ष विकले बताउनुभयो । जनसत्ता सञ्चालनका क्रममा जनसत्तामै किनबेच भएका जग्गा पछिल्लो समय समस्याको रुपमा थिए ।

विशेषगरी जग्गा बेचेकाहरुले पास दिन नमानेपछि समस्या भइरहेको थियो । पहिलो कुरा जग्गा नै पास नदिने दिएपनि हालको मूल्य माग गरेपछि जग्गा किनेकाहरु बढी समस्यामा परेका थिए । जनसत्तामा पास भएका लिखतले कानूनी मान्यता नपाएपछि जिल्लाका धेरै सर्वसाधारण चिन्तामा थिए तर पछिल्लो समय स्थानीय तहको अग्रसरतामा धेरै त्यस्ता जग्गालाई कानूनी मान्यता दिलाइएको छ । 

केही बाँकी रहेका पनि चाँडै समस्या समाधान हुने आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । भएकामध्य अधिकांश समस्या समाधान भइसकेको र छुटफुट पनि चाँडै समाधान हुने नगरप्रमुख केसीको भनाई छ । जिल्लाका सबै स्थानीय तहमा यस्ता कित्ताहरु छन् । मुसीकोट नगरपालिका संख्यात्मक रुपमा कम भएपनि जनसत्ताका लिखत अन्यत्र सबै स्थानीय तहमा छन् ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update