रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ स्थित कुनाखेतमा रहेको धनु जैसी ब्रमा मन्दिरको घेरबार तथा व्यवस्थापनको काम जारी छ । यस अघिसम्म खुला रुपमा रहेको मन्दिर अब भने व्यवस्थित हुने भएको हो । सन्देश नाथको नेतृत्वमा अमेरिकामा रहेका युवाहरुको सहयोगबाट मन्दिर घेरबार तथा व्यवस्थापनको काम भइरहेको हो ।
उपभोक्ता समिति मार्फत मन्दिर घेरबार तथा व्यवस्थापनको काम भइरहेको छ । अहिले मन्दिर परिसरको चारै तिर पर्खाल निर्माणको काम भइरहेको निर्माण समितिका अध्यक्ष रत्नबहादुर नाथले जानकारी दिनुभयो । मन्दिरको ८० प्रतिशत काम बाँकी रहेको उहाँको भनाई छ ।
मन्दिरमा दुई वटा गेट निर्माण रहने छन् । मन्दिरमा प्रवेश गेट र निष्कासन गेट गरी दुई वटा गेट रहने समितिको भनाई छ । यस्तै भक्तजनहरुलाई बस्नको लागि बेन्च निर्माण गरिँदै छ । रेलिङ पाइप मार्फत मन्दिरको वरपर घेरबार गरिने निर्माण समितिले बताएको छ । उक्त काम सम्पन्न भए पश्चात मन्दिरमा पशुचौपाया र बाल बालिका अनावश्यक रुपमा प्रवेश गर्न पाउने छैनन् ।
गाउँको योगदानको लागि युवाहरुको खाँचो रहेकाले आफुहरूले आर्थिक सहयोग संकलन गरिरहेको सन्देश नाथले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ३६ जना युवाहरुबाट चार लाख २६ हजार ८२ रुपैयाँ सहयोग संकलन भएको छ । उक्त रकम मन्दिर व्यवस्थापनमा अपुग हुने भएको हुँदा अझै संकलन कार्य जारी रहेको उहाँको भनाई छ ।