Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा एसइईको पहिलो दिन ९१ जना परीक्षार्थी अनुपस्थित 

माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन आज रुकुम पश्चिममा ९१ जना परीक्षार्थी अनुपस्थित भएका छन् । नियमित र ग्रेड बृद्धि तर्फ गरी जिल्ला भरमा ९१ जना परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख ताराप्रकास पुनमगरले जानकारी दिनुभयो । 

एसइईमा सहभागिताका लागि भनेर परीक्षा फारम भरेका उनिहरु आज पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी नभएको उहाँको भनाई छ । उहाँका अनुसार नियमित तर्फ ७८ जना परीक्षार्थी अनुपस्थित भएका छन् । जसमा ४२ जना छात्र र ३६ जना छात्रा रहेका छन् । 

त्यस्तै ग्रेडबृद्धि तर्फ ८ जना छात्र र ५ जना छात्रा गरी १३ जना परीक्षार्थी अनुपस्थित भएको पुनले बताउनुभयो । नियमित तर्फ ४ हजार ९९ जना परीक्षार्थी सहभागी भएका छन् । जसमध्य १ हजार ९ सय ७२ जना छात्र र २ हजार १ सय २७ जना छात्रा रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । 

कार्यालयका अनुसार ग्रेडबृद्धि तर्फ १२ जना छात्र र १७ जना छात्रा गरी २९ जना परीक्षार्थीले पहिलो दिनको परीक्षा दिएका छन् । नियमित र ग्रेड बृद्धि तर्फ गरी जिल्लामा कुल ४ हजार २ सय १६ जना परीक्षार्थीले आवेदन फारम भरेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update