शहिद शुक्र बाल क्लब समूहको आयोजनामा बाल बिबाह न्युनिकरण तथा पोषण सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ । उक्त सडक नाटक आइतबार भूमे गाउँ पालिका वडा नम्बर ९ चुनबाङमा प्रदर्शन गरिएको छ । बालविवाहको कारण, बालबिवाहका कारण शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा विद्यालयका बालबालिकालाई जानकारी दिने उद्देश्यले सडक नाटक प्रदर्शन गरिएको हो ।
उक्त सडक नाटकमा विद्यालय जाने उमेरमा हुने प्रेम सम्बन्ध, त्यसमा परिवारको भूमिका, प्रेम सम्बन्धले ति बालबालिकाको शिक्षामा परेको नकारात्मक असर र समग्रमा कलिलै उमेरमा आमा बन्दा बालिकाको स्वास्थ्यमा परेको दीर्घकालिन असरका बारेमा अभिनय गरेर देखाइएको थियो । त्यस्तै ६ महिना देखि ५ बर्ष मुनिका बालबालिकामा कुपोषण हुन नदिन पोषणको व्यवस्थापन, जंकफुडको प्रयोगले पार्ने असरहरुका बारेमा पनि नाटकमा सचेतना समेटिएको थियो ।
भूमे गाउँपालिका वडा नम्बर ९ मा रहेको नेपाल राष्ट्रिय मावि चुनवाङबाट सुरु भएको यो कार्यक्रम गाउँपालिकाका सबै ९ वटै वडामा संचालन गरिने बताइएको छ । नाटकमा एस.बि. मगर, पार्बती सुनार, निर्मला सुनार, अर्जुन बिक, कमल बिक, बिपना रोका, कुसुम रोका, निरिशा सुनार लगायत ८ जना कलाकारहरु रहेका छन् । समग्रमा बालबिवाह न्युनिकरण र पोषणको महत्वका बारेमा सचेतना फैलाउन नाटक देखाइरहेको बाल क्लबले जनाएको छ ।