रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ६ गौरा भिर हुँदै खेतखोला–छहरा जोड्ने सडक खण्ड निर्माणको काम सुरु गरिएको छ । सिम्ली–घापाघर–आठबीसकोट–डोल्पा सडक खण्ड अन्तर्गत पर्ने उक्त सडक खण्ड निर्माणको काम सुरु भएको हो । बहुवर्षिय योजना अन्तर्गत सिम्ली–गरायला–सल्लीचौर–आठबीसकोट–डोल्पा सडक खण्डको काम २०७५ साल देखि जारी रहेको छ ।
उक्त सडक खण्ड अन्तर्गत वडा नम्बर ६ को वडा कार्यालयसम्म जोड्ने गौरा भिर देखि छहरा भिरसम्मको पडाड फुटाउने कामलाई गाउँपालिकाले तिव्रता दिएको गाउँ कार्यपालिका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार यो सडक खण्डको पहाड फुटाउने काम अप्ठेरो भूगोलका कारण चुनौतीपूर्ण रहेको छ । २ सय मिटर गौरा भिर र ३ सय मिटर छहरा भिरमा पहाड फुटाउनुपर्ने चुनौती रहेको उहाँले बताउनुभयो ।
यो सडक खण्ड निर्माण भयो भने अन्य ठाउँबाट पनि ६ नम्बर वडा कार्यालय आउन सहज हुने छ । बहुवर्षिय योजना अन्तर्गत खड्का कन्ट्रक्सन प्रालीले निर्माण गर्ने जिम्मा लिएको छ । सिम्ली–घापाघर–आठबीसकोट–डोल्पा सडक खण्ड अन्तर्गत पर्ने ३५ किलो मिटर सडक निर्माण गर्न १२ करोड बजेटमा निर्माण कम्पनीले जिम्मा पाएको छ । निर्माणको काम जेठ मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ ।