Kakhara सबैको खबर सम्पूर्ण खबर
घोर्खानीका ७२ वर्षिय बृद्धको हत्या आरोप लागेका ३ जना पूर्पक्षका लागि कारागार चलान 

रुकुम जिल्ला अदालतले एक बृद्धको हत्या अभियोग लागेका ३ जनालाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । गत फागुन २७ गते मुसिकोट नगरपालिका वडा नम्बर ८ घोर्खानीका ७२ वर्षिय जीतबहादुर बुढाको हत्या आरोपमा पक्राउ परेका सोही गाउँका तीन जनालाई रुकुम जिल्ला अदालतले सोमबार पूर्पक्षका लागि पठाउने आदेश गरेको हो । 

कारागार चलान हुनेमा घोर्खानीका १९ वर्षिय विशाल भनिने अनिल पुन, १९ वर्षिय भिमनारायण थापा र ३१ वर्षिय लालबहादुर भनिने कमल थापा रहेका छन् । तीन जनालाई भने बाल सुधार गृहमा पठाइएको छ । १८ वर्ष उमेर पुरा नभएकोले हत्या आरोप लागेका तीन जनालाई बाल सुधारगृह पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले जानकारी दिनुभयो ।

उनिहरुलाई नेपालगञ्जमा रहेको बाल सुधार गृहमा पठाइएको छ । अर्का एक जना बालकलाई भने साधारण तारेखमा रिहा गरिएको श्रेष्ठले बताउनुभयो । घटना फागुन २७ गते बेलुका ७ बजेतिर भएको थियो । बाजे साइनो पर्ने बुढाको हत्या आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान थालेको थियो । 

फागुन २८ गते कर्तव्य ज्यान मुद्धा दर्ता भएकामा प्रहरीले अनुसन्धान सकेर चैत्र १६ गते सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले चैत्र १७ गते रुकुम जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएकामा २० गते सोमबार भएको थुनछेक आदेश अनुसार तीन जनालाई पूर्पक्षका लागि कारागार, तीन जनालाई बाल सुधार गृह र एक जनालाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update