Kakhara सबैको खबर सम्पूर्ण खबर
८० लाख लगानी गरेर व्यवसायिक कृषिमा लागेका गणेश

रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर २ गुजेलढुंगाका खड्काले १२ वर्ष जति विदेशमा विताउनुभयो । सुरुमा २०५५ सालमा साउदी अरब जानुभएका खड्काले ८ बर्ष त्यहाँ श्रम गर्नुभयो । त्यहाँबाट फर्केपछि गाउँमै केही गर्ने संकल्पका साथ व्यापार सुरु गर्नुभयो । केही वर्ष पसल संचालन गरेपछि उहाँले यातायात क्षेत्रमा हात हाल्नुभयो । सुरुमा ३ वटा जीप किन्नुभयो, पछि उक्त जिप बेचेर बस किन्नुभयो । १ वर्ष जति रुकुम–दाङ रुटमा बस संचालन गरेपछि पनि आर्थिक अवस्थामा सुधार भएन । त्यसपछि उहाँ फेरि विदेशिनुपर्यो । वैदेशिक रोजगारका लागि मलेसिया जानुभएका खड्काले त्यहाँ ४ वर्ष विताउनुभयो । मलेसियाको ४ वर्षे बसाई सकेर उहाँ पुनः घर फर्किनुभयो । त्यसपछि कृषिमै केही गर्छु भन्ने अठौटका साथ दर्ता गर्नुभयो शारदा सिस्ने जलजला कृषि कम्पनी । सुरुमा तरकारी खेती र ब्रोइलर पाल्नुभयो । यतिमा मात्र उहाँको मन थामिएन र थप्नुभयो कालिज, बाख्रा, टर्की, लौकाट तथा बारीभरी कागती र अमिलो । यसरी सुरु भयो खड्काको कृषि उद्यम ।

खड्काको जीन्दगीमा ठूलो उतारचढाव आइसकेको छ । अझैपनि उहाँ आफु सन्तोष गर्ने अवस्थामा पुगि नसकेको बताउनुहुन्छ । वर्षमा ६, ७ लाख रुपैंया खुद आम्दानी गरिरहनुभएका खड्का यसलाई बढाएर २० लाख बढी पुर्याउन चाहनुहुन्छ । ८० लाख जति लगानी भइसकेको छ । चालु पुँजी नहुँदा भनेजस्तो गर्न नसकिएको उहाँ बताउनुहुन्छ । पुँजीले साथ दिएमा एक सिजनमा ५ हजार कालिज पाल्ने, बाख्राको संख्या १ सय पुर्याउने र अर्गानिक खाना खुवाउने गरी होमस्टे संचालन गर्ने उहाँको लक्ष छ ।

खड्काले आँफुसंग भएको सबै १६ रोपनी जग्गा प्रयोग गर्नुभएको छ । आधा जति जमिनमा अमिलो र कागती लगाउनुभएका खड्काले अन्य जग्गामा कालिज फर्म, बाख्रा गोठ, ब्रोइलर खोर, तरकारीका लागि टनेल निर्माण लगायतमा प्रयोग गर्नुभएको छ । काममा परिवारकै सदस्य खटिनुहुन्छ भने एक जनालाई रोजगारी पनि दिनुभएको छ । 

खड्काले कृषि व्यवसायका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाबाट करिब ४५ लाख ऋण लिनुभएको छ । बाँकी खर्च आफ्नै रहेको र केही अनुदानबाट प्राप्त भएको उहाँले सुनाउनुभयो । तर सोचे अनुसार अनुदान पाउन नसकेको उहाँको गुनासो छ । 

राज्यले कृषिमा ठूलो लगानी गरेपनि त्यसमा चित्त बुझेको छैन् उहाँको । जहाँ जाँदापनि वास्तविक किसान भन्दा पनि कागजी प्रक्रिया पुरा गर्ने किसानले मात्र धेरै फाइदा लिएको उहाँको बताउनुभयो । वास्तविक किसानलाई अनुदान र अन्य सहयोग गर्ने भनेपनि खास किसानले सहुलियत पाउन नसकेको गुनासो खड्काको छ ।  

कृषिबाटै बाँच्न सकिने राम्रो सम्भावना खड्का देख्नुहुन्छ । तर यसका लागि कृषिमा क्रान्ति नै आवश्यक रहेको उहाँको बुझाई छ । कृषि बिना केही पनि सम्भव नभएकोले राज्यले लगानी गर्ने हो र व्यवसायिक किसानलाई प्रोत्साहन गर्ने हो भने कृषिमै बाँच्न सकिने र देशको आर्थिक अवस्थालाई पनि माथि उठाउन सकिने उहाँको ठम्याइ छ । 

IMG_67281680858803.jpg

 

सरकारले कृषकलाई वास्तै गर्दैन 
सरकारले व्यवसायिक किसानलाई सामान्य प्राविधिक ज्ञान पनि दिन नसकिरहेको उहाँको गुनासो छ । बारीमा लगाएका अमिलाको बिरुवालाई कहिले र कसरी कटिङ गर्ने, रोग लागेमा त्यसको कसरी उपचार गर्ने भन्ने लगायतका सामान्य कुराहरु पनि कृषकलाई सिकाउन सरकारले नसकेको उहाँले गुनासो गर्नुभयो । आफ्नो फर्ममा रहेका २७ वटा बाख्रा मरेको उहाँले बताउनुभयो । प्राविधिक ज्ञान पाउन सकेको भए धेरै बाख्रा बचाउन सकिन्थ्यो होला उहाँले भन्नुभयो । अहिले उहाँसंग १ सय बढी कालिज रहेका छन् । ४० वटा जति बाख्रा छन् । टमाटरको खेती भर्खर सकियो । कागती र सुन्तला गरी ५ सय बोट जति छन् । अव ब्रोइलर कुखुरा राख्दै हुनुहुन्छ । 

जंगली बँदले पाल्ने तयारी 
कालिज पालन सहित कृषिमा होमिनुभएका खड्काले जंगली बँदेल पाल्ने तयारी गर्नुभएको छ । यसका लागि कानूनी प्रावधानका बारेमा बुझिरहेको उहाँको भनाई छ । ‘जंगली बँदेल पनि पाल्न पाइन्छ भन्ने सुनेको छु, वन कार्यालय लगायतका ठाउँमा बुझिरहेको छु, उहाँले भन्नुभयो–अनुमति लिएर जंगली बँदेल पनि पाल्दै छु ।’ 

IMG_67351680859044.jpg

अर्गानिक होम स्टे संचालनको लक्ष 
खड्काकोमा अहिले पनि कालिजको मासु, मकै तथा कोदोको ढिँडो, मैकै र कोदोको रोटी, सिस्नो लगायतका अर्गानिक खाना खान पाइन्छ । त्यसका लागि पहिले नै खबर गरेर जानुपर्छ । तर खड्काले जुनसुकै बेला पनि अर्गानिक खाना खान सकिने होमस्टे संचालनको लक्ष राख्नुभएको छ । जो कोहीले पनि भनेको बेला कालिज, ढिँडो, बँदेल र कुखराको मासु, मैकै र कोदोको रोटी लगायतका खानेकुरा खान सक्ने व्यवस्था गर्ने आफ्नो लक्ष रहेको उहाँले सुनाउनुभयो । 

IMG_67301680859045.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update