Kakhara सबैको खबर सम्पूर्ण खबर
वाइसीयल रुकुम पूर्वले गर्यो दिदी बहिनीका हत्यारालाई कारबाहीको माग 

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसीयल) जिल्ला समन्वय समिति रुकुुम पूर्वले बालिका हत्यारालाई तत्काल पक्राउ गरी कानून बमोजिम कारबाही गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै वाइसीयलले जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्माका दुई दिदी बहिनीका हत्यारालाई तुरुन्त पत्ता लगाइ कानूनी कारबाही गर्न ध्यानाकर्षण गराएको हो । 

वाइसीयलका जिल्ला इन्चार्ज मनबहादुर बिसी (बिद्रोही)ले बुझाएको ज्ञापन पत्रमा चैत्र २२ गते ११ वर्षिया रीना बुढा मगर र उनकी बहिनी ९ वर्षिया कालीमाया बुढा मगरको अज्ञात व्यक्तिबाट विभत्स हत्या गरी भीरमा फालिएको र उनीहरुले लगाएका गरगहना लुटेर लगेको घटनाले संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।  

शान्ति सुुरक्षा र अमनचयनको जिम्मा पाएको प्रहरी प्रशासनले यथाशिघ्र हत्याराको खोज तलास गरी तुरुन्तै कानूनी कारवाही गर्न वाइसीयल माग गर्दछ, पत्रमा भनिएको छ । साथै वाइसीयलले मृतक दिदी बहिनीप्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । 

वाइसीयलले निमित्त प्रमुुख जिल्ला अधिकारी हिरालाल आचार्यलाई ज्ञापन पत्र बुझाएको हो । चैत्र २२ गते दिउँसो घरबाट सिस्नो टिप्न भनि घर नजिकैको ठाउँमा गएका तारामान बुढाका ११ वर्षिया छोरी रीना बुढामगर र ९ वर्षिया छोरी कालिमाया बुढामगर नजिकैको भीरमा हत्या गरी फालिएको अवस्थामा फेला परेका थिए । उनिहरुले लगाएका गर गहना सबै लुटेर लगिएको थियो ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिनुभयो । तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली गएर घटनास्थलको छाँन मारेको र घटनाको अनुसन्धान जारी नै रहेको उहाँको भनाई छ ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update