रुकुम पश्चिमका नागरिक समाजका प्रतिनिधिहरुले दैनिक उपभोग्य सामग्रिको मुल्य वृद्धि भएको भन्दै मुसीकोट नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस)द्धारा संचालित पारस्परिक जवाफदेहिता परियोजनाको अगुवाईमा दैनिक उपभोग्य सामग्रिहरुको मुल्य एक्कासि बढ्दा उपभोक्ताहरु प्रत्यक्ष मारमा परेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराईएको हो । आज नगरपालिकाको कार्यालयमा गई निमित्त प्रमुख प्रशासकिय अधिकृत नरविर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउदै सदरमुकामका मुल बजारमा बढेको बजार भाउको बारेमा आवश्यक अनुगमण गरी उपभोक्ता माथि परेको मारको उचित सम्बोधन गर्न माग गरिएको छ ।
नगरपालिकामा बुझाईएको ध्यानाकर्षण पत्रमा खलंगामा दैनिक उपभोग्य वस्तुहरुको मुल्य झण्डै दोब्बर सम्मले बृद्धि भएको उल्लेख छ । प्रतिकिलो २ सय रुपैंयामा पाईने लसुन बढेर ४ सय, प्रतिलिटर १ सय ६० मा पाईने खानेतेल २ सय २० रुपैंया, प्रतिकिलो ४ सय ५० पर्ने चियापत्ति ६ सय रुपैंयामा बिक्रि भइरहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । त्यस्तै अदुवा, प्याज, चिनी, मैदा, अण्डा लगायतका विभिन्न तरकारी तथा अन्य उपभोग्य सामग्रिहरुको पनि मुल्य बढेको जनाईएको छ । दैनिक उपभोग्य सामग्रिहरुको मुल्य एक्कासि बढेको र यसतर्फ सम्बन्धीत स्थानीय तह र स्थानीय प्रशासन लगायत सम्बन्धित सरोकारवाला निकायहरु बेखबर बनेकाले नगरपालिकाको ध्यानाकर्षण गराईएको हरप्लेसका जिल्ला अधिकृत महेश केसीले बताउनुभयो ।
सदरमुकाममै चर्को मुल्य बृद्धि हुनुले जिल्लाका अन्य ठाउँमा पनि उपभोक्ताहरु चर्को मारमा परिरहेको देखिने उहाँको भनाई छ । सबै तिरका स्थानीय सरकार र सम्बन्धित सरोकारवालालाई यसतर्फ सचेत बनाउन प्रतिनिधिमुलक रुपमा मुसीकोट नगरपालिकाको ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । हरप्लेसकी अध्यक्ष सुनिता बुढा, रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र केसी, नेपाल पत्रकार महासंघका सचिव हरि गौतम, इन्सेक प्रतिनिधि मनिषा केसी लगायतको टोलिले नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको हो ।