रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर २ को डोप्टे सिंचाई आयोजनाको पाईपमा आगजनी भएको छ । आयोजनाको मुहान साईटमा रहेको पाईपमा शनिबार अज्ञात समुहले आगजनी गरेको हो । निर्माणाधिन आयोजनाको पहरामा राखेको पाईपमा आगो लगाईएको छ ।
आगलागीबाट ९० एम.एमको करिव ८ सय मिटर पाईप पूणर्रुपमा जलेर नष्ट भएको वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो । आयोजनाको ५० प्रतिशत काम सकिएको र पाईपमा पानी परीक्षणको तयारी भइरहेको अघिल्लो दिननै जमिन माथि रहेको सबै पाईप जलेको हो । अज्ञात समुहले पाईप जलाए पछि आयोजनाको काम रोकिएको छ ।
यहि आर्थिक वर्षमा पाईप मार्फत जिपुमा सिंचाईको लागि पानी ल्याउने योजना रहेकोमा पाईप जले पछि समस्या भएको छ । पाईप जलाईएको बारेमा प्रहरीमा जानकारी गराईएको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । आयोजनाको पाईप कसले किन जलायो भन्ने बारेमा केहि जानकारी नभएको खत्रीले बताउनुभयो ।
संघीय सरकार मार्फत गाउँपालिकाले ८० लाखमा ठेक्का मार्फत सिँचाई आयोजनाको काम गराइरहेको थियो । आयोजनाको काम ५० प्रतिशत सकिएको छ । कामको जिम्मा टिके ईन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन सप्लार्य प्राली कोहलपुर, बाँकेले लगेको थियो । ५० प्रतिशत काम सकिएको बेलमा पाईपमा आगलागि भए पनि योजनाको काम प्रभावित भएको छ ।