Kakhara सबैको खबर सम्पूर्ण खबर
रुक्मीणि माविमा 'अस्थायी' विव्यस

रुकुम पूर्व सिस्ने गाउँपालिकाको रुक्मीणि माविमा अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । गाउँ शिक्षा समितिको बैठकले लामो समयदेखि विव्यस गठन हुन नसकेपछि कामकाजमा असहजता भएको भन्दै काम चलाउको लागि उक्त समिति बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार ५ नम्बर वडाध्यक्ष शान्तेबहादुर विकलाई अध्यक्ष तोकेर विद्यालयको दैनिक कामकाज सञ्चालन गर्न विद्यालयलाई भनिएको छ ।

शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मंगलसिङ बुढाले लामो समयदेखि अनिर्णयको बन्दी हुँदा विद्यालयको दैनिक प्रशासन चलाउनका लागि अस्थायी समिति गठन गरी कार्य सम्पादन गर्न भनिएको बताउनुभयो । शिक्षा ऐन २०२८ को दफा १२ मा विव्यस गठन प्रक्रियामा रहेको व्यवस्था प्रयोग गरेर अस्थायी विव्यसबाट काम चलाउने निर्णय भएको बुढाको भनाई छ । कुनै पनि तरिकाले विव्यस गठन हुन नसकेमा यो विधि प्रयोग हुने र अर्को व्यवस्था नभएसम्मका लागि यसले कामकाज चलाउने बुढाले जानकारी दिनुभयो । उक्त ऐनमा जिल्ला शिक्षा समितिले निर्णय गर्ने भनिएको छ ।

हाल जिल्ला शिक्षा समितिको सट्टामा गाउँ शिक्षा समितिले गर्ने भएकाले यो नियमानुसार नै भएको शिक्षा समितिले दावी गरेको छ । विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य र वडाध्यक्ष पनि रहेकाले अस्थायी समितिको नेतृत्व वडाध्यक्ष विकलाई दिइएको समितिले बताएको छ । गाउँ शिक्षा समितिबाट अध्यक्षको जिम्मेवारी पाएका वडाध्यक्ष विकले विद्यालयको समग्र विकासमा ध्यान दिने बताउनुभयो । ‘भौतिक संरचनामा विकास भएकै छ, विद्यालयको पठन पाठन र अरु व्यवस्थापनमा ध्यान दिने योजना बनाएको छु,’ उहाँले भन्नुभयो । लामो समयदेखि अन्यौल भएपछि निकासको लागि गाउँ शिक्षा समितिले यस्तो निर्णय गरेको अध्यक्ष विकले बताउनुभयो । 

रुक्मीणि माध्यामिक विद्यालय जिल्लाको पूरानो विद्यालय हो । तर यो विद्यालय झण्डै एक बर्षदेखि विव्यसविहीन ढंगबाट चलिरहेको छ । यस अघिको विव्यसको कार्यावधि सकिएको पनि झण्डै दुई बर्ष पुग्न लागिसक्यो । हालसम्म पनि विव्यस गठन हुन सकेको छैन । गत माघ १५ गते विव्यस गठनका लागि भनेर बोलाइएको अभिभावक भेलामा पनि विव्यस गठन हुन सकेको थिएन । विव्यसको कार्यावधि सकिएपछि पनि अभिभावक भेलाले सोही विव्यसलाई काम चलाउको रुपमा काम गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update