Kakhara सबैको खबर सम्पूर्ण खबर
सल्लेमा निःशुल्क आँखा अप्रेशन शिविर सुरु
अप्रेशन अघि आँखाको जाँच गर्दै स्वास्थ्यकर्मि ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ सल्ले स्थित आँखा उपचार केन्द्रमा दुई दिने निःशुल्क आँखा अप्रेशन शिविर सुरु भएको छ । मुसीकोट नगरपालिका र एन.ए.बि.पि आई केयर नर्वेको आर्थिक तथा राप्ती आँखा अस्पताल तुलसिपुर दाङको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्र सल्लेले शिविर आयोजना गरेको हो ।शिविरको आज बिहान मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । भोलीसम्म संचालन हुने शिविरमा मोतियाबिन्दुको अप्रेशन हुने छ । अप्रेशन गर्नुपर्ने बिरामिलाई निःशुल्क ल्याब सेवा पनि प्रदान गरिने छ ।

यसका अतिरिक्त आवश्यक परेमा निःशुल्क आँखा जाँच र उपचारको सेवा पनि प्रदान गरिने आँखा उपचार केन्द्र प्रमुख धनवहादुर खत्रीले जानकारी दिनुभयो । शिविरमा डा. सुलक्ष्मी कटुवालको नेतृत्वमा १५ जना स्वास्थ्यकर्मीको टोली खटिएको छ । जिल्लाका विभिन्न ठाउँहरुमा यसअघि संचालन गरिएका आँखा जाँच शिविरबाट पहिचान भएका र नयाँ गरी करिब डेढ सय जनाले सेवा लिने अनुमान गरिएको प्रमुख खत्रीले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख गौतम सहित उप प्रमुख प्रेमकुमारी सुनार, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, नरसिंह दल गणका गणपति प्रमुख सेनानी गोबिन्द भुजेल, प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठ, शसस्त्र प्रहरी नायव उपरीक्षक प्रेमसिंह धामी लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update