Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका स्थानीय तहको बेरुजु १९ करोड, बढी चौरजहारीको कम आठबीसकोटको 

रुकुम पश्चिमका स्थानीय तहले कानुन र प्रक्रिया मिचेर खर्च गरेको बेरुजु १९ करोड बढी देखिएको छ । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहको आर्थिक वर्ष २०७८/०७९ को बेरुजु १९ करोड १३ लाख ५५ हजार देखिएको छ । कुल ९ अर्व ८९ करोड ६५ लाख ८ हजारको लेखा परीक्षण गर्दा उक्त बेरुजु देखिएको हो । 

जिल्लाका ६ स्थानीय तह मध्यमा सबैभन्दा बढी बेरुजु चौरजहारी नगरपालिकाको देखिएको छ भने सबै भन्दा कम बेरुजु आठबीसकोट नगरपालिकाको छ । आठबीसकोट नगरपालिकाको कुल २ अर्ब ११ करोड २६ लाख ९ सयको लेखा परीक्षण गर्दा २ करोड ३८ लाख ६८ हजार बेरुजु देखिएको छ । यो कुल बजेटको १.१३ प्रतिशत हो । 

जिल्लामा सबैभन्दा बढी रकमको लेखा परीक्षण पनि आठबीसकोट नगरपालिकाकै गरिएको थियो । चौरजहारी नगरपालिकाको १ अर्व ७९ करोड १७ लाख ८२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा जिल्लामा सबैभन्दा बढी ३.०६ प्रतिशत बेरुजु देखिएको हो । चौरजहारीको बेरुजु रकम ५ करोड ४८ लाख ५६ हजार रहेको छ । 

Beruju 20791681450186.jpg

मुसिकोट नगरपालिकाको बेरुजु १.६ प्रतिशत रहेको छ । यो जिल्लाको दोस्रो कम बेरुजु हो । मुसिकोटको १ अर्व ९१ करोड ९ लाख ५ हजार रकमको लेखा परीक्षण भएकामा ३ करोड ६ लाख १ हजार बेरुजु निस्किएको छ । 

त्यस्तै त्रिवेणी गाउँपालिकाको १ अर्व ३४ करोड ७ लाख ९२ हजार रकमको लेखा परीक्षण गर्दा ३ करोड १२ लाख ९८ हजार अर्थात २.३३ प्रतिशत बेरुजु र सानीभेरी गाउँपालिकाको १ अर्व ३४ लाख ७९ हजारको लेखा परीक्षण गर्दा २ करोड ४८ लाख ७ हजार अर्थात २.४७ प्रतिशत बेरुजु देखिएको छ । 

बाँफिकोट गाउँपालिकाको बेरुजु २.७९ प्रतिशत रहेको छ । उसको कुल ९३ करोड ९१ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड ५९ लाख २५ हजार बेरुजु आएको छ । जिल्लामा सबैभन्दा कम रकमको लेखा परीक्षण बाँफिकोटको गरिएको छ । बेरुजु भनेको कानुन र प्रक्रिया मिचेर राज्यकोषबाट खर्च भएको रकम हो । बेरुजु असुल उपर गर्नुपर्ने र शैद्धान्तिक अर्थात पक्रिया पुरा गर्नुपर्ने गरी दुई खालको हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update