साँस्कृतिक विविधता भएका देशहरूमा अनेकौं संवत् प्रचलनमा छन् । नेपालमा विक्रम संवतले साँस्कृतिक र औपचारिक मान्यता पाएको छ । उज्जैनका तत्कालिन राजा विक्रमादित्यले विक्रम सम्वत् चलाएको मानिन्छ । विक्रम सम्वतको प्रयोग अगाडि देखि नै प्रयोग भएको भएता पनि राजा पृथ्वी वीर विक्रमको शासनकालमा राणा प्रधानमन्त्री चन्द्र शमशेरले आधिकारिकता दिइ सरकारी सम्बतको औपचारिक मान्यता दिएको ठानिन्छ ।
वर्ष २०७९ बिदा भएको छ । दिनहरू आउलान तर वर्तमानमा २०७९ अब कहिल्यै फर्केर आउने छैन । वर्तमानमा नयाँ वर्ष २०८० उदाएको छ । नयाँ वर्षको रुपमा आगमन भएको छ । नयाँ वर्षको अवसरमा उमङ्गता, हर्ष र खुसीका भावहरू सम्प्रेषित भएका छन् ।
प्रविधिको विकाससँगै शुभकामना आदानप्रदान गर्ने तौरतरिका र शैली बदलिएको छ । कुनै समय यस्तो थियो नयाँ वर्षको विशेष गरी ग्रामीण क्षेत्रमा कुनै गुन्जायस नै हुदैन्थ्यो । कागजको पानामा नव वर्षको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना लेखेर वरन्डामा धागोले झुन्डाएको याद आएको छ । विभिन्न रङ्गको प्रयोग गरेर अक्षरहरूलाई रङ्गीविरङ्गी बनाएको मानसपटलमा ताजा छ । केही समयपछि शुभकामना कार्ड वितरण गर्ने प्रचलन बढ्यो । मोबाइलको प्रयोगसँगै मेसेजमार्फत् शुभकामना सन्देश सम्प्रेषण गर्न थालियो । प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जालमार्फत् शुभकामना आदानप्रदान सहज र तिव्र बनेको छ । चिनेको–नचिनेकोलाई पनि शुभकामना बाँडन पाइएको छ । रचना र सिर्जनशीलता हराएको छ । कपि पेस्ट शुभकामनाहरूले साँचो कामनाको अनुभूति दिलाउन नसकेको आभास भने हुने गरेको छ । फगत आदर्शका लागि प्रेषित सन्देशहरू बिना प्राणका शरीर हुन् । जेहोस् गाउँ सहर सबैतिर विशेष पर्व र उत्सवको रुपमा नयाँ वर्षले पहिचान बनाउदै गएको छ ।
दिनहरू आउँछन् अनि जान्छन् । जन्मेदेखि नै यो निरन्तर चलिरहने प्रक्रिया हो । नयाँ वर्षलाई कुन रुपमा बुझ्ने भन्ने सवाल नै महत्त्वपूर्ण हुन्छ । नयाँ वर्ष अर्थात् वैशाख १ गते हिजोको जस्तै एउटा दिन न हो । वर्ष फेरिदैमा हाम्रा प्रवृत्ति र चिन्तनहरू फेरिन्छन् वा फेरिदैनन् त्यो महत्त्वपूर्ण हुन्छ । सिर्फ भित्ताको क्यालेन्डर फेरिदैमा केही हुदैन । ध्रुत, उग्र चतुर्याइ, ठगी, कुविचारको बासलाई दिलदिमागबाट निकाल्न सक्ने प्रेरणा दिन सक्नुपर्छ नयाँ वर्षले । विगतको समीक्षा र आगामी योजना पनि हो नयाँ वर्ष । के हामीले गत वर्षका सबल र सुधार गर्नुपर्ने पक्षको समीक्षा गर्यौं त ? नयाँ वर्षका लागि के नयाँ अठोट अगाडि सार्यौं ? नयाँ वर्षका लागि सङ्कल्प के गर्यौं त ? मनन गर्न जरुरी छ । पात्रो मात्र फेर्ने होइन पात्र फेरिएको अपेक्षा समयले गरेको छ । बदलिएको गुणी पात्र आजको आवश्कता हो ।
शुभकामनाका शब्दहरू पोष्ट्याउने क्रम बढ्दो छ । भावना जागृत हुनु जति महत्वपूर्ण हुन्छ त्यसको कार्यान्वयन झनै महत्वको हुन्छ । कथनी र करणीमा फरक हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्न सक्नुपर्छ । व्यवहार परिवर्तनको अठोट र कार्यान्वयन बिना शुभकामनाको कर्मकाण्ड पूरा गरेर मात्रै खासै नयाँ वर्षले नयाँ वहार भित्र्याउन सक्दैन । त्यागमा आफूलाई बाहेक गरेर हिसाबकिताब गर्ने प्रवृत्ति बढ्दो छ । हामी भन्दा मले महत्व पाउनुपर्ने इगो भव्य रुपमा जागृत भएको आभास भेटन सकिन्छ । नकरात्मक सोच र चिन्तनको हावी छ । विषयवस्तुको यथार्थ गहिराइमा नपुगेर धारणा बनाउने र व्यर्थको बदला लिन खोज्ने दुष्साहसको विगविगी छ । आदर्श अनुरुप व्यवहार परिवर्तन हुदैन भने आदर्श छाँटनुको कुनै तुक हुदैन । कुरा जस्तो काम र काम जस्तो कुरा बिचको तालमेल मिल्न सकेको छैन ।
नयाँ वर्षलाई आधार बनाएर असल चरित्र बनाउने प्रण गरौं । पात्रो र सामाजिक सञ्जालका भित्ताहरूमा नयाँ वर्ष देखिएला । तर आचरण परिवर्तन नभए नयाँ वर्षको उमङ्गतामा रमाउनुको कुनै अर्थ रहने छैन । आवरण र आचरणको पहिचान गरी एकाकार गर्न नयाँ वर्षले प्रेरणा प्रदान गरोस् । आचरण सुन्दर बनाउने प्रयास गरे जीवन उत्सवको रुपमा परिणत हुनेछ । जीवनको सार्थकता र गरिमा त्यतिबेला उच्च बन्नेछ । विगतको समीक्षा र आगामी वर्ष असल र सभ्य नागरिक बन्न र अनि सार्थक जीवन जीउनका लागि आजै अठोट गरौं । नयाँ प्रण र सङ्कल्प गरौं ।
सकरात्मक सोचको खडेरी परेको दुनियाँमा समालोचनात्मक सोचको विकास होस् । आफूले गरेको सबै ठिक अर्काले गरेको सबै गलत ठान्ने अनि अर्काको प्रगति देख्न नसकेर खुट्टा तान्ने लजास्पद तुच्छ प्रवृत्ति अन्त्य गर्न सबैमा सदवुद्धि फिरोस् । नव वर्ष २०८० सालको पावन अवसरमा सम्पूर्ण नेपाली मन, नेपाली पन तथा नेपालको माटोप्रति माया र सम्मान व्यक्त गर्ने सबैमा हार्दिक शुभकामना !