रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको दुर्गम वडा नम्बर ४ र ६ मा पहिलो पटक विद्युत लाइन पुगेको छ । वडा नम्बर ४ र ६ का वस्तीहरुमा पहिलो पटक ११ हजार केभिएको विद्युत लाइन पुगेको हो । केन्द्रिय विद्युत लाइन वडा नम्बर ४ को गोतामकोट हुँदै ६ नम्बर वडाको त्रिवेणी, छिमी मन्का तथा रुकुम र डोल्पाको सिमाना करपगार सम्म विस्तार हुनेछ । हिजो एक कार्यक्रमका बिच ४ नम्बर वडाको बगेनामा रहेको ट्रान्सफर्मरमा बत्ति बालेर आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले विद्युत लाइनको उद्धाट्न गर्नुभयो ।
अव घर घरमा विद्युत पुग्न बाँकी छ । टोलटोलमा गाडिएका पोलमा तार राख्ने, कस्ने लगायका काम जारी रहेको नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले जनाएको छ । वायरिङ गरिएका घरहरुमा छिट्टै बत्ति बल्ने र बाँकी घरमा पनि छिटो वायरिङ गर्न अनुरोध गरिएको छ ।
स्थानीय तहको निर्वाचन घोषणा पत्रमा भने अनुसार २ बर्ष भित्र सबै वडाका केन्द्र सम्म केन्द्रिय लाइन बिस्तार र ५ वर्ष भित्र नगरपालिकाका सबै गाउँहरुमा विद्युतिकरण गर्ने प्रतिबद्धता अनुसार विद्युत विस्तारको काम भइरहेको नगर प्रमुख रवि केसीले बताउनुभयो । वडा नम्बर ५ मा पनि विद्युत विस्तारको काम तिब्र रुपमा चलिरहेको बताइएको छ ।
आठबीसकोटका ४ र ६ का वस्तीहरुमा विद्युत विस्तार कार्य अगाडि बढेपछि छिमेकी जिल्ला डोल्पासम्म पनि विद्युत विस्तार गर्न सहज हुने भएको छ । विद्युत विस्तारसंगै जनताको घर उज्यालो सगैं आर्थिक उन्नतिमा समेत टेवा पुग्ने विश्वास गरिएको नगर प्रमुख केसीले बताउनुभयो ।
अव वडा नम्बर ४ का ५ सय ६६ घर परिवार र वडा नम्बर ६ का ५ सय ४६ घर परिवार गरेर ११ सय १२ घर घरपरिवार लाभान्वित हुने छन् । नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र र आठबीसकोट वितरण शाखाले संयुक्त रुपमा विद्युत विस्तारको काम गरिरहेका छन ।