सामान्य औषधि उपचारका लागि घण्टौँ पैदल हिड्नु पर्ने बाध्यता रुकुम पूर्वको भूमे गाउँपालिकाबासीका लागि अहिले टर्दै छ । ४ आधारभूत स्वास्थ्य केन्द्र र ५ सामुदायिक स्वास्थ्य केन्द्र गरी ९ ठाउँमा गाउँपालिकाले आफैँ स्वास्थ्य संस्था स्थापना गरेपछि नागरिकले स्वास्थ्य सेवा लिनेमा सहज भएको हो ।
गाउँपालिका हुनु भन्दा अघि यस गाउँपालिका भित्र ५ वटा स्वास्थ्य चौकी मात्र रहेको थियो । गाउँपालिकाको संरचना आएपछि गाउँपालिकाले ९ स्वास्थ्य केन्द्र स्थापना गरेको छ । हाल गाउँपालिकाभर १४ वटा स्वास्थ्य संस्थाबाट सेवा प्रदान भइरहेको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक उपेन्द्र यादवले बताउनुभयो । “स्वास्थ्य नीतिका अनुसार स्वास्थ्य सेवा लिन भौगोलिक हिसाबले टाढा भएमा जनसङ्ख्याका आधारमा स्थानीय सरकारले स्वास्थ्य केन्द्र स्थापना गरी सर्वसाधारणलाई स्वास्थ्य सेवा दिनु पर्छ भनिएको छ” यादवले भन्नुभयो -“सोही अनुसार गाउँ कार्यपालिकाको निणर्य अनुसार गाउँपालिकाले स्वास्थ्य केन्द्र स्थापना गरी गाउँपालिकाबासीलाई सेवा दिइराखिएको छ ।”
“स्वास्थ्य चौकी नभएका वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ” यादवले भन्नुभयो -“कुनै बस्तीका नागरिक स्वास्थ्य सेवा लिनका लागि धेरै समय लाग्ने गाउँमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।” भूमे-१ लुकुम, भूमे-५ सेराबाङ, भूमे-७ धर्मशाला र भूमे-८ कोर्जामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । यसैगरी भूमे-३ झुम्लाबाङ, भूमे-८ कुचिबाङ, भूमे-६ खाम्दै, भूमे-७ गुनाम र भूमे-५ दालिबाङमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिइराखिएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । गुनामका धनमान बुढा मगरले गाउँमा पालिकाले स्थापना गरेको स्वास्थ्य केन्द्रले सेवा सहज भएको बताउनुभयो ।