Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा पहिलो पटक कापी उद्योग स्थापना

रुकुम पूर्वमा पहिलो पटक कापी उद्योग स्थापना भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ जामाबगर नाखामा याे उद्योग सञ्चालनमा आएको हो । जामाबगरका टोपजङ बुढामगरले व्यक्तिगत लगानीमा जिल्लामै पहिलो पटक सानोभेरी कापी उद्योग सञ्चालनमा ल्याउनुभएको छ । साढे ८ लाख लगानीमा उद्योग स्थापना गरेको र अहिले धमाधम कापी उत्पादन भइरहेको सञ्चालक बुढा मगरले बताउनुभयो । उहाँका अनुसार उद्योग सञ्चालनका लागी भवन निर्माण गर्दा एक लाख ७५ हजार, मेसिन खरिदमा साढे ४ लाख र कापि उत्पादन गर्ने आवश्यक कच्चा पदार्थहरु खरिद ३ लाख गरी साढे ८ लाख भन्दा बढी लगानी भएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वमा दर्ता गरी उद्योग सञ्चालन गरिएको र हाल पहिलो चरणमा १५ हजार पिस विभिन्न साइजका कापीहरु उत्पादन गरिएको उहाँको भनाई छ । जिल्लाका विद्यालयहरुमा बाहिरबाटै कापी ल्याउनु पर्ने बाध्यता अव केहि हदसम्म भएपनि हट्ने विश्वास उहाँको छ । उद्योगमा उत्पादन भएका कापीहरु सिस्ने गाउँपालिकाको प्वाङ, सिस्ने, पुथाउत्तरगंगा गाउँपालिकाको चारगाउँ, जाङ, राङसी कोल, गरखानी, तकसेरा, हुकाम, मैकोट लगायतका ठाउँमा पठाउने तयारी भैरहेको संचालक बुढा मगरले बताउनुभयो । समग्र जिल्लाभरीनै कापि पुर्याउने गरी उद्योगलाई विस्तार गर्दै लैजाने पनि उहाँले बताउनुभयो ।

अव गाउँमै उद्योग स्थापना भैइ कापीहरु उत्पादन हुन थालेकाले विद्यार्थीहरुका लागी चाहिने कापीहरु बाहिरबाट ल्याउनु पर्ने बाध्यताको अन्त्य हुने स्थानीय सिद्धमन्डली माविका प्रधानाध्यापक चिताराम केसीको विश्वास छ ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update