रुकुम पश्चिममा झण्डै १० प्रतिशत बालबालिकाहरुको जन्मदर्ता नभएको पाइएको छ । राष्ट्रिय जनजणना २०७८ अनुसार जिल्लाका कुल बालबालिकाको संख्या २० हजार १६ जना रहेकामा १ हजार ९ सय ५२ जनाको जन्मदर्ता भएको छैन् ।
यो कुल बालबालिकाको ९.८ प्रतिशत हो । ९०.२ प्रतिशत अर्थात १८ हजार ६४ जना बालबालिकाको भने जन्मदर्ता भएको छ । सरकारले २०८० सम्म जन्म, मृत्यु जस्ता घटनाको शतप्रतिशत दर्ता गर्ने लक्ष लिएपनि रुकुम पश्चिममा भने धेरै बालबालिकाहरु जन्मदर्ताको पहुँच भन्दा बाहिरै रहेको पाइएको हो ।
अहिले घटना दर्ता सप्ताह चलिरहेको छ । वैशाख १ गतेदेखि सुरु भएको सप्ताह वैशाख ७ गतेसम्म संचालन हुने छ । जन्म, मृत्यु, विवाह, बसाइँसराई लगायतका घटनालाई बढाउनका लागि हरेक वर्ष घटना दर्ता सप्ताह संचालन हुने गरेको छ ।
आफ्नो वडा कार्यालयमा गएर घटना दर्ता गर्न सकिन्छ । घटना घटेको ३५ दिनभित्र घटना दर्ता गरे कुनैपनि शुल्क लाग्दैन् ।