Kakhara सबैको खबर सम्पूर्ण खबर
महेन्द्र माविको विद्यालय भवन निर्माणको काम धमाधम
विद्यालयकाे निर्माणाधिन भवन ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १३ छिवाङ चौतारामा नेपाल सरकारबाट नमुना विद्यालयको रुपमा छनोट भएको महेन्द्र माध्यमिक विद्यालयको भवन निर्माणको काम जारी छ । आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म भवन निर्माणको काम सक्ने गरि काम भइरहेको हो । भवनको एक तला सम्मको निर्माण सकिसकेको र दोस्रो एक तलाको काम जारी रहेको निर्माण कम्पनीले जनाएको छ ।

विद्यालयलाई पाँच वर्षसम्म क्रमागत रुपमा भौतिक र शैक्षिक सुधारका लागि प्रत्येक वर्ष बजेट प्राप्त हुने वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका यो आर्थिक वर्षमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मानव स्रोत विकास केन्द्रबाट भौतिक निर्माण तर्फ १ करोड, शैक्षिक सुधार तर्फ ५० लाख र प्रोत्साहन स्वरुप २ लाख गरेर जम्मा १ करोड ५२ लाख बजेट प्राप्त भएको छ । 

जसमा यो आर्थिक वर्ष ४/४ कोठाको २ तलाको विद्यालय भवन निर्माण हुने छ । विद्यालय भवन निर्र्माणको काम असार मसान्तसम्म सम्पन्न गर्ने गरी विजयश्वरी निर्माण सेवा कम्पनी जाजरकोटले जिम्मा लिएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा पनि नमुना विद्यालय अन्तर्गत विद्यालयलाई डेढ करोड बजेट प्राप्त भएको थियो । तर समय अभावका कारण काम हुन नसक्दा बजेट फिर्ता भएको थियो । 

अहिले उक्त विद्यालयमा १८ महिने र ३ वर्षे बाली विज्ञान, कक्षा ११/१२ मा विज्ञान विषय र कक्षा १ देखि १२ कक्षासम्म नियमित तर्फ पढनपाठन भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update