Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट १० को शैक्षिक गुणस्तर अभिबृद्धिको ‘मार्गचित्र’ तयार

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० द्धारा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि समस्याको पहिचान तथा सुधारका उपाय सुझाउने गरी गठित विषयविज्ञ सम्मिलित समितिले प्रतिवेदन बुझाएको छ । वडा शिक्षा समितिको गत पुष २२ गते बसेको बैठकले वडाको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि समस्याको पहिचान तथा सुधारका उपाय सुझाउन समिति गठन गरेको थियो । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालय मुसिकोट खलंगा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा उपप्रध्यापक मुकुन्दप्रसाद शर्मा, सहायक प्राध्यापक दिपक केसी, त्रिभुवन जनता मावि खलंगाका शिक्षक शेरबहादुर खड्का र तिलक खड्का सम्मिलित समितिले वडाका तीन वटा विद्यालयको हालको शैक्षिक अवस्था र सुधार गर्नुपर्ने विषयमा सुझाव सहितको प्रतिवेदन वडा शिक्षा समितिलाई बुझाएको हो । 

समितिले वडाका तीन विद्यालय मालिका मावि चुन, जनता आधारभूत विद्यालय गलमपाटी र शान्ति आधारभूत विद्यालय डेलडाँडाका कक्षा ३, ५ र ८ कक्षामा अध्यनरत विद्यार्थीको नेपाली, अंग्रेजी, विज्ञान र गणित विषयको आधार उपलब्धि परीक्षण परीक्षा संचालन गरेको थियो । परीक्षामा तीन विद्यालयका ८१ जना विद्यार्थीको सहभागिता रहेको थियो । 

विद्यार्थीहरुको आधार कस्तो छ भनेर परीक्षण गरिएको समितिका मुकुन्दप्रसाद शर्माले बताउनुभयो । यो कुनै आधिकारीक परीक्षा भन्दा पनि विद्यार्थीको आधार कस्तो छ भनेर परीक्षण गरिएको उहाँको भनाई छ । विद्यार्थीको आधार पत्ता नलगाई सुधारका प्रयास गर्न नसकिने भएकोले सुरुमा विद्यार्थीको अवस्था कस्तो छ भनेर पत्ता लगाउन परीक्षा संचालन गरिएको उहाँले बताउनुभयो । 

समितिले विद्यार्थीको आधार, विद्यालयको भौतिक, शैक्षिक, सामाजिक, शिक्षक, अभिभावकको अवस्था, राजनीति लगायतका विभिन्न पाटोहरुलाई केलाएर शैक्षिक सुधारका लागि प्रतिवेदन तयार पारिएको शर्माले बताउनुभयो । सबै पक्षहरुलाई मसिनोसंग केलाएर प्रतिवेदन तयार पारिएको र त्यसका आधारमा शैक्षिक सुधारमा लाग्नका लागि वडालाई सुझाव दिइएको उहाँको भनाई छ । 

प्रतिवेदनमा मुख्य गरी शैक्षिक सुधारका लागि समाज एकजुट हुनुपर्ने सुझाइएको छ । शैक्षिक सुधारका लागि राजनीतिक दल, अभिभावक, शिक्षक, सरोकारवाला निकाय सबैको साझा दायित्व हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । भौतिक संरचना, प्रविधिको प्रयोग, पठनपाठनमा आधुनिक प्रणालीको विकास हुनेपर्ने जस्ता सुझाव पनि प्रतिवेदनमा उल्लेख छ । 

शैक्षिक विकासमा शिक्षक र अभिभावको समन्वयलाई मुख्यताका साथ जोड दिइएको छ । दरबन्दी अभाव रहेको, कम्प्युटर, प्रिन्टर लगायतका सामग्री नभएको, शिक्षण सामग्रीको प्रयोग हुन नसकेको, सरोकारवाला शैक्षिक विकासका लागि गम्भिर नभएको, विद्यालय व्यवस्थापन समितिले आफ्नो दायित्व पूरा गर्न नसकेको जस्ता समस्याहरुको उजागर गर्दै यि समस्याको तत्काल हल हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

तीन वटै विद्यालयका समस्यालाई छुट्टा छुट्टै रुपमा केलाएर उक्त समस्या समाधान र समग्रमा शैक्षिक सुधारका तीन वटै विद्यालयले गर्नुपर्ने कामका बारेमा छुट्टा छुट्टै सुझाव दिइएको समितिका सदस्य तिलक खड्काले बताउनुभयो । यसले गर्दा कुन विद्यालयमा कस्ता समस्या छन् र त्यसलाई कसरी हल गर्ने भन्ने बारेमा सहज हुने भएकोले छुट्टा छुट्टै सुझावहरु दिइएको उहाँको भनाई छ । 

वडा सरकार, वडा शिक्षा समिति, अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवाला निकायले गर्नुपर्ने कामका बारेमा पनि स्पस्ट रुपमा सुझाव दिइएको समितिले जनाएको छ । वडाको वर्तमान शैक्षिक अवस्था कस्तो हो र अव के गर्नुपर्ने हो भनेर मार्गचित्र बनेकोले अव सोही अनुसार काम गर्ने वडा शिक्षा समितिका संयोजक तथा वडाध्यक्ष धनबहादुर खड्काले बताउनुभयो ।

शैक्षिक गुणस्तर अभिबृद्धिका लागि वडा सरकार लागि परेको उहाँको भनाई छ । शैक्षिक विकास नभइकन अन्य विकास नहुने भएकोले शिक्षामा विशेष जोड दिइएको उहाँले बताउनुभयो । ‘यो कार्यकालमा कति गर्न सकिएला, कति नसकिएला, उहाँले भन्नुभयो–तर वडाको शैक्षिक विकासका लागि मार्ग चित्र बनेको छ, यसले भोली आउने जनप्रतिनिधिलाई पनि काम गर्न सजिलो हुने छ ।’  

निर्मम तरिकाले नलागेसम्म शैक्षिक समस्याहरु हल हुन नसक्ने र शैक्षिक विकास हुन नसक्ने अध्यक्ष खड्काले बताउनुभयो । त्यस्तै मुसिकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख बिनाराम खड्काले यो वडाको मात्र नभई नगरकै शिक्षाको अनुहार र मार्ग चित्र भएको बताउनुभयो । वडाले थालेको अभियान महत्वपूर्ण भएको भन्दै उहाँले यो प्रतिवेदनले मुसिकोट १० लाई मात्र नभई अन्य वडा तथा नगरलाई नै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । एक कार्यक्रमका विच समितिले उक्त प्रतिवेदन बुझाएको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update