रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ का विभिन्न टोलमा एक घर एक धारा निर्माण गरिएको छ । वडाको लिङगुर, होल, हिल, अदुवारी, होलतारा, चौखावाङ नमुना टोल, बलचौर लगायत वडाका अधिकांश टोलमा एक घर एक धारा निर्माण गरिएको हो । पञ्चवर्षिय योजना अन्तर्गत वडाका विभिन्न टोलका ३ सय ५० घरधुरीमा एक घर एक धारा निर्माण गरिएको वडा अध्यक्ष शसिराम पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडाको माथिल्लो होल, माथिल्लो अदुवारी र बलचौरमा भने एक घर एक धारा निर्माण गर्ने योजना भए पनि बजेट अभाव हुँदा धारा निर्माणको काम हुन सकेको छैन् । निर्माण गरिएका धेरै जसो धारामा पानी आएपनि कतिपय धाराहरुमा मुहान व्यवस्थित नहुँदा निममित पानीको व्यवस्थापन गर्र्न समस्या भएको उहाँको भनाई छ । नियमित पानी नआउदा समस्या भइरहेको स्थानीय कमल खड्काले गुनासो गर्नुभयो ।
वडा कार्यालयले भने पानीको मुहान व्यवस्थित र संरक्षण गरेर निर्माण गरिएका धारामा नियमित पानी सञ्चालन गर्ने योजना रहेकोे जनाएको छ । एक घर एक धारा निर्माण गर्नु तर्फ मात्रै नभएर नियमित धारामा पानी सञ्चालन गर्ने तर्फ पनि सोचिएको वडा अध्यक्ष पुनले बताउनुभयो । उक्त वडामा एक घर एक धारा निर्माण गर्न जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत ३५ लाख र मुसिकोट नगरपालिकाबाट ४० लाख गरेर कुल ७५ लाख रकम खर्च भइसकेको छ ।
निर्माण हुन बाँकी रहेका टोलमा पनि बजेटको व्यवस्थापन गरेर एक घर एक धारा निर्माणको काम अगाडि बढाइने वडा कार्यालयले जनाएको छ ।