जाजरकोट–डोल्पा सडक खण्ड अन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने ठूली भेरी नदी माथिको निर्माणाधिन बेलिब्रिज भाँचिदा मृत्यु हुने २ जनाकै परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णु श्रेष्ठका अनुसार मृत्यु हुनेमा भारतको बहराइच जिल्लाका अन्दाजी ३५ वर्षिय पुर्षोतम राजकुमार र अन्दाजी ४० वर्षिय धर्मेन्द्र गौतम रहनुभएको छ । प्राथमिक स्वास्थ्य केन्द्र दल्ली जाजरकोटले दुवै जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
घटनामा परी ३ जना गम्भिर घाइते भएका छन् भने ४ जनाको अवस्था सामान्य रहेको छ । गम्भिर घाइतेलाई लिन सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर आइरहेको प्रहरीले जनाएको छ । उक्त पुलमा ९ जना कामदार खटिएका थिए । जसमध्य ८ जना भारत बहराइच जिल्ला मधुवापुरका र १ जना नेपालको नवलपरासी जिल्लाका रहेको प्रहरीको भनाई छ ।
घाइते हुनेमा भारत बहराइच मधुवापुरका अन्दाजी ५० वर्षिय मैकु गौतम, ३२ वर्षिय गोरख नाथ, ३२ वर्षिय सञ्जय गौतम, १९ वर्षिय सोनु चुमार, ४९ वर्षिय गोपाल चमार र ६० वर्षिय राजकुमार हरीजन चमार रहेका छन् । क्रेन चालक नवलपरासीका २५ वर्षिय निरजकुमार चौधरी रहेको बताइएको छ । उनिहरु मध्य कसको अवस्था गम्भिर र कसको सामान्य भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाई छ ।
निर्माणको क्रम रहेको जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ को तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ४ छरेबगर डावा जोड्ने पुल आज बिहान १२ः४० बजेतिर भाँचिएको थियो ।