रुकुम पूर्वमा दुई वटा टाउको र ३ वटा कान भएको गाईको बाछो देखिएको छ । भूमे गाउँपालिका १ रिकुङका ढुडै बुढाले पालेको गाईको पेटमा यस्तो अनौठौ बाछो भेटिएको हो । तर उक्त बाछोलाई मृत अवस्थामा पेटबाट निकालिएको थियो । गाउँपालिका पशु शाखाका प्राविधिहरुले गाईको पेट चिरेर निकालेका थिए ।
गाईलाई व्यथा लागेको ३ दिनपछि किसानले आफुहरुलाई खवर गरेको पशु सेवा प्राविधिक नारायण ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार खबर पाउने वित्तिकै प्राविधिकहरु किसानको घरमा पुगेर उपचार सुरु गरेका थिए । गाईले सामान्य अवस्थामा बाछो पाउन नसकेपछि पेट चिर्दा २ वटा मुख, ३ वटा कान र २ वटा आँखा भएको मृत बाछो फेला परेको ओलीले बताउनुभयो ।
उपचार ढिलो भएको कारणले माउ गाईको पनि मरेकाे उहाँले बताउनुभयो । उक्त गाईको शरीरमा टक्सिन फैलिएको थियो । टक्सिनले गर्दा गाई कमजोर भएर मेरेको ओलीको भनाई छ । उहाँका अनुसार गाईलाई डिस्टोकिया भएको १२ घण्टा भित्र उपचार गर्नुपर्छ । उपचार हुन नसकेमा पशुको शरीरमा बीस फैलेर पशु मर्न सक्छ ।
३ दिनपछि मात्र खवर भएको हुँदा आमालाई पनि बचाउन नसकिएको पशु प्राविधिक ओलीले बताउनुभयो । यो समस्या धेरै जसो गाई र भैसीमा देखिने पशु प्राविधिकहरुको भनाई छ । ओलीले बताएअनुसार जुम्ल्याह भ्रुण उत्पादन भई एकआपसमा जोडिएर यो समस्या देखिन्छ । खास समस्या गाईको पाठेघर सानो भएर हुने गर्छ । यस्ता बिकृतिहरु अपवादको रुपमा पाठेघरको एउटै सिङमा गर्भधारण हुदा जुम्ल्याह भ्रुणका कारणले हुन्छ ।