Kakhara सबैको खबर सम्पूर्ण खबर
गम्भिर लापरवाहीः निर्माणाधिन अवस्थामै क्रेन चढाएपछि भाँचियो पुल
भाँचिएकाे पुल ।

जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदि माथिको पुल निर्माणका क्रममा गम्भिर लापरवाही भएको छ । निर्माणाधिन पुलमै क्रेन चढाएपछि पुल भाँचिएको छ । उक्त पुल भाँचिदा पुल निर्माणको काम गरिरहेका २ जना मजदुरको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जसमध्य ३ जनाको अवस्था गम्भिर रहेको छ । उनिहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ । अन्यको प्राथमिक स्वास्थ्य केन्द्र दल्ली जाजरकोटमा उपचार भइरहेको छ । 

भेरी करिडोर अन्तर्गत उक्त ठाउँमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको थियो । जाजरकोट पट्टीबाट रुकुम पश्चिम तर्फ पुल निर्माणको काम सक्दै लगिएको थियो । तर निर्माणाधिन पुलमै क्रेन लिएपछि दुर्घटना भएको देखिएको रुकुम पश्चिम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराइले बताउनुभयो । निर्माणाधिन पुलमा लापरवाही गरेर क्रेन लिएकै कारण दुर्घटना भएको देखिन्छ उहाँले भन्नुभयो । सबै नट बोल्ट कसि नसक्दै र निर्माण नसकिदै त्यति ठूलो क्रेन पुलमा लग्नु नै गम्भिर लापरवाही भएको उहाँको भनाई छ ।

अनुमानका भरमा काम गर्दा गम्भिर दुर्घटना निम्तिएको भनाई उहाँको छ । ‘पुलले क्रेन धानिहाल्ला नि भनेर अनुमान गरिएको देखियो, यति ठूलो क्रेन आधा निर्माण भएको पुलले धान्ने कुरै भएन, उहाँले भन्नुभयो–अनुमानका भरमा काम गर्दा दुर्घटना घटेको देखिन्छ ।’  यसबारेमा अनुसन्धान चलिरहेको डिएसपी भट्टराइले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update