रुकुम पूर्वमा वृहत् पूर्वी रुकुम पर्यटक तथा सांस्कृतिक महोत्सव चलिरहेको छ । सिस्ने गाउँपालिकाको प्रवर्धक तथा मस्त सङ्गीत सङ्ग्रहालय तथा ट्रेडिङ सेन्टर रुकुमपूर्वको आयोजनामा यही चैत्र ३० गते देखि महोत्सव चलिरहेको हो ।
सिस्ने गाउँपालिका-५ रुकुमकोट स्थित रुक्मिणी माविको परिसरमा वृहत् पूर्वी रुकुम महोत्सव भव्य साथ चलिरहेको छ । जस अनुसार आज शनिबार पछिल्लो समयमा ‘धोकेबाज’ गीतबाट चर्चा कमाइ रहनु भएका गायिका एलिना चौहान आउनु हुने भएको मस्त सङ्गीत सङ्ग्रहालय तथा ट्रेडिङ सेन्टरका अध्यक्ष एवम् गायक प्रकाश रन्काले जानकारी दिनुभयो । ‘धोकेबाज’ बोलको गीत गाउनु भएका चौहानलाई अहिले सबैले उहाँको नामबाट भन्दा पनि ‘धोकेबाज’ भनेर चिन्ने गरेका छन् ।
यसैगरी गायिका चौहानसँगै लोकदोहोरी गायक जय देवकोटा, गायिका जमुना भट्टराई, हास्यव्यङ्गे कलाकारको प्रस्तुति रहने रन्काले बताउनुभयो । चैत ३० गते देखि वैशाख ९ गते सम्म सञ्चालन गरिने भएको महोत्सव दुुई दिन थप हुन सक्ने रन्काले जानकारी दिनुभयो । ‘भोलि वैशाख १० गतेका दिन महोत्सव थप हुने निश्चित भइसकेको छ’ रन्काले भन्नुभयो -‘जसका लागि नायिका रेखा थापा आउने कुरा फिक्स भइसको छ ।’
वैशाख ११ गतेका दिन पनि समय थपका लागि जिल्ला स्थित सरोकारवालासँग छलफल भइरहेको समेत रन्काले बताउनुभयो । मौसम गडबड र दर्शकको मागलाई मध्ये नजर गरी महोत्सव थप हुन गइरहेको आयोजकले जनाएको छ ।
महोत्सवमा महानायक राजेश हमाल, लोक गायिका तथा मोडल ज्योती मगर, गायक पुष्कल शर्मा, रोशन सिंह, गायिका शान्तिश्री परियार, जानकी तारामी मगर लगायत राष्ट्रिय स्तरका कलाकारले प्रस्तुति प्रदर्शन गरिसकेका छन् ।