पेट्रोलियम पदार्थको अवैध विक्री वितरणमा रोक लगाइने भएको छ । जिल्लाका विभिन्न ठाउँमा अवैध रुपमा पेट्रोलियम पदार्थको खुलमखुल्ला विक्री वितरण भइरहेको भन्दै त्यसलाई रोक्न भनिएको छ । सम्बन्धित स्थानीय तहले पेट्रोलियम पदार्थको विक्री वितरण भइरहेको भन्दै यसलाई रोक्न सूचना समेत जारी गरेका छन् । जिल्ला प्रशासन कार्यालयले यसरी अवैध रुपमा पेट्रोलियम पदार्थ विक्री वितरण गर्न नपाइने भन्दै उक्त कार्य रोक्नका लागि सबैसित अनुरोध गरेको छ ।
सम्बन्धित स्थानीय तह मार्फत सूचना गरी तत्काल उक्त कार्य रोक्नका लागि भनिएको हो । मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधकिृत नरविर खड्काले नगरभित्र भइरहेको उक्त व्यापार बन्द गर्न भनिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयको पत्रानुसार सम्बन्धित व्यक्ति, व्यवसायिलाई उक्त कार्य तत्काल बन्द गर्न नगरपालिकाले सूचना जारी गरेको खड्काले बताउनुभयो । मुसीकोट नगरपालिकाका विभिन्न ठाउँमा यसको कारोबार भइरहेको छ । खलंगा बजारमा मात्रै ६ ठाउँमा यसरी अवैध रुपमा पेट्रोलियम पदार्थको विक्री वितरण हुने गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जिल्लाका विभिन्न ठाउँमा यसरी नै पेट्रोलियम पदार्थको विक्री वितरण भइरहेको भन्ने बुझिन आएकाले उक्त कार्य रोक्न चिठी लेखिएको बताउनुभयो । जिल्लाका ६ वटै स्थानीय तह र प्रहरीलाई विवरण संकलन गरी कारोबार रोक्ने प्रयोजनका लागि भनिएको उहाँले बताउनुभयो । चिठी पठाएपछि स्थानीय तह तथा प्रहरीबाट विवरण भने आइ नसकेको उहाँले बताउनुभयो । सम्बन्धित निकायको अनुमति विनै मनपरी तवरबाट पेट्रोलियम पदार्थको विक्री वितरण भइरहेको छ ।